नेपालगन्ज : बाँकेको राप्तीपारी फत्तेपुरमा बाघले फेरी मान्छेलाई आक्रमण गरेको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेर पनि उनी बाँच्न सफल भएका हुन् ।
उक्त वडाका वडाअध्यक्ष रामलखन थारुले वकिललाई बाघले आक्रमण गरेपनि बाँच्न सफल भएको बताए । आइतबार माध्यान्ह १२ बजेतिर सामुदायिक वन क्षेत्रभित्र बाघले आक्रमण गरेको थियो । मण्डफवा सामुदायिक वनको पहाडी क्षेत्रमा घाँस, दाउरा खोज्न गएका बेलामा बाघले उनलाई एक्कासी आक्रमण गरेको हो ।
घटनास्थल फत्तेपुर गाउँबाट करिव ३ किलोमिटर भित्र पर्छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाघले आक्रमण गरेर स्थानीय युवालाई घाइते बनाएको बताए । ‘बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएका छन्, अवस्था खतरामुक्त नै छ,’ अधिकारीले भने ।
बाघसँग केहीबेरसम्म लडेका उनलाई भुइँमा पल्टाएर घाटीमा टोकेर रगत चुस्न थालेका बेलामा सँगै जंगलमा गएका साथीहरुले हो–हल्ला गरेपछि बाघ त्यहाँबाट भागेको स्थानीयले बताए । गद्दीको घाटीमा गहिरो प्वाल परेको छ । बाघको आक्रमणबाट घाइते भएका उनलाई स्थानीयले उद्दार गरेका हुन् ।
उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अस्पताल पुर्याएपछि उनको होस खुलेको छ । यसअघि शनिबार मात्रै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरी मारेको थियो ।
एक महिनाअघि पनि उक्त वडाकै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो । गत भदौं अन्तिम सातायता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।