नेपालगन्ज : कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि नारायणप्रसाद गौडेल नेतृत्वको प्यानलले आफ्ना सदस्य पदका उम्मेदवार घोषणा गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा सोमबार एक कार्यक्रमका बीच उम्मेदवार घोषणा गरिएको हो ।
गौडेल प्यानलका सचिवालय संयोजक तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषालले उम्मेदवारको नाम घोषणा गरेका हुन् । जसअनुसार उक्त प्यानलका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका (खुला सदस्य) पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट रहेका छन् ।
कोहलपुर नगरपालिकाबाट खुलामा ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल, खजुराबाट खुला सदस्यमा पारसनाथ योगी, राप्तीसोनारी गाउँपालिकाबाट खुला सदस्यमा टिकाराम बस्नेत र महिला सदस्यमा तिला कार्की रहेका छन् ।
नरैनापुर गाउँपालिकाबाट खुला सदस्यमा महबुब अलि शेष र महिला सदस्यमा विमलादेवी तमौली, जानकी गाउँपालिकाबाट खुला सदस्यमा रामचन्द्र गुप्ता तथा महिला सदस्यमा सुनिता कुमारी आले र बैजनाथ गाउँपालिकाबाट खुला सदस्यमा डिलबहादुर बुढा र महिला सदस्यमा कोपिला शर्मा रहेका छन् । उक्त प्यानलले डुडुवा गाउँपालिकासहित अन्य सदस्य पदमा अझै नाम टुंगो लगाउन बाँकी रहेको जनाएको छ ।
संस्थापन इतर(शेखर कोइराला) पक्षको उक्त प्यानलले सभापतिसहित पदाधिकारीको घोषणा गत पुस १९ गते गरेको थियो । जस अनुसार सभापतिमा गौडेलसहित उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधान्सु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार रहेका छन् ।
पार्टी कार्यालयमा सोमबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, सभापति पदका उम्मेदवार गौडेल, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी लगायतले आफुहरुको जित निश्चित भइसकेको बताए । आसन्न स्थानीय, प्रदेश र प्रतिनिधी सभा क्षेत्रको निर्वाचनमा पार्टीलाई जिताउनका लागि गौडेल नेतृत्वको प्यानललाई कार्यकर्ताले विजयी गराउनुपर्ने अधिकांसको भनाई छ ।
संस्थापन(शेरबहादुर देउवा) प्यानलले भने अझै उम्मेदवारको नाम टुंगो लगाउन सकेको छैन । उक्त प्यानलभित्र सभापतिसहित पदाधिकारी र सदस्यमा धेरै ब्यक्ति आकांक्षी देखिएकाले घोषणा गर्न नसकिएको बताइएको छ । पटक पटक सर्दै आएको कांग्रेस बाँकेको निर्वाचन पछिल्लो पटक यही फागनु १५ गतेका लागि तोकिएको छ ।