नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन अन्तरगत हुन लागेको निर्वाचनका लागि संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । संस्थापन पक्षबाट सभापति पदमा(वर्णानुक्रम अनुसार) क्रमशः निरञ्जनसिंह सिजापति, बादशा कुर्मी र सुरेन्द्र हमालले उम्मेदवारी दिने चर्चा छ ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका हमालले मंगलबारबाट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रचार सुरु गरिसकेका छन् । उनी बाँके क्षेत्र नम्बर २ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधी छन् । यस्तै करिव तीन महिनाअघि उम्मेदवारी घोषणा गरेका कुर्मीले सुरुदेखी नै प्रचार प्रसार तिब्र पारेका छन् । क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधी रहेका नेता कुर्मी संविधान सभाका सदस्य हुन् ।
यसैगरी सिजापतिले उम्मेदवारी घोषणा नगरेपनि भित्र भित्रै आफ्नो प्रचार प्रसार गरिरहेका छन् । उनी क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधी छन् । जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधी हुनुपर्ने ब्यवस्था रहेको छ । संस्थापन पक्षभित्र उम्मेदवारलाई मिलाउने धेरै कोसिश गर्दा पनि सहमती नभएपछि तीन जनाले उम्मेदवारी दिने भएका हुन् । यसअघि देउवा प्यानलबाट सुनिलनरसिंह राणा, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह पनि आकांक्षी थिए ।
नेता शाह कांग्रेसको लुम्बिनी प्रदेश सह-महामन्त्रीको उम्मेदवार बनेपछि उनले जिल्ला सभापतिको दाबी छाडेका हुन् । देउवा प्यानलबाटै सभापतिका आकांक्षी बर्मा र राणा चुनाव नलड्ने निस्कर्षमा पुगेको नेताहरु बताउँछन् । संस्थापन इतर(शेखर कोइराला) प्यानलबाट नारायणप्रसाद गौडेल भने एक मात्र उम्मेदवार हुन् ।
क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधी समेत रहेका उनको नेतृत्वमा पदाधिकारी र सदस्यहरु उम्मेदवारको टुंगो लागिसकेको छ । संस्थापन पक्षबाट धेरै उम्मेदवार भएपनि पदाधिकारी र कार्यसमिति सदस्यको एउटै प्यानल बनाउने तयारी छ ।
एउटै प्यानल बनाउन पार्टीका केन्द्रीय सहमहामन्त्री एवम् देउवा निकट नेता किशोरसिंह राठौंर लागिरहेका छन् । ‘सभापति पदमा नेताहरुले एकले अर्कालाई छाड्न चाहेनन्,’ उनले टेलिफोनमा भने ‘टिमबाट सभापतिको उम्मेदवार एउटै बनाउन नसकिएपनि पदाधिकारी र कार्यसमितिको एउटै प्यानल बनाउने प्रयासमा छु, धेरै जना आकांक्षी देखिदाँ समस्या भइरहेको छ ।’
देउवा प्यानलबाट पदाधिकारी उम्मेदवार मंगलबार बेलुकासम्म घोषणा गर्ने तयारी छ । कांग्रेस बाँकेको निर्वाचन यही फागुन १५ गते नेपालगन्जमा हुदैछ । निर्वाचन कार्यक्रम अनुसार फागुन १२ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता गरिनेछ ।