नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको निर्वाचन अन्तरगत उम्मेदवारी दर्ता समय परिवर्तन भएको छ । जिल्ला सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बेलुका बसेको जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली कांग्रेस बाँके जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयबाट फागुन १२ गते (भोली) बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कायम गरिएको थियो । तर, प्राविधिक कारणले फागुन १२ गते (भोली) दिउँसो १ बजेदेखी ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्णय भएको छ ।
उक्त बैठकमा निर्वाचन परिचालन समितिका सहसंयोजक एवम् जिल्ला सहायक निर्वाचन अधिकृत शाही तथा समितिका सदस्यहरु ईश्वरीप्रसाद ज्ञवाली, बीरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने, प्रह्लाद कार्की, मेहरसिंह खत्री प्रभावकर भट्टराई र शिक्षक तोजिन्द्र बिकको उपस्थिती रहेको थियो ।
यसैबीच नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही फागुन १५ गते तोकिएको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । उक्त निर्वाचनलाई आगामी फागुन २० गतेभित्र सम्पन्न गर्ने ब्यवस्था मिलाउन केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतलाई बुधबार बेलुका निर्देशन दिएको हो ।
मुलुकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधिन राष्टिय महत्वको अति संवेदनशील विषय तथा प्रतिनिधी सभाका सदस्यहरुलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलले ह्वीप जारी गरिसकेको छ ।
पार्टीको ह्वीपका कारण, जिल्ला अधिवेशनका प्रतिनिधी–संघीय सांसदका सदस्यहरु जिल्ला अधिवेशनमा भाग लिन आ–आफनो जिल्लामा तत्काल जान असमर्थ रहेको अवस्थालाई मध्यनजर राखी १५ गतेको निर्वाचन स्थगित गर्नु परेको केन्द्रीय निर्वाचन समितिले उल्लेख गरेको छ ।
उल्लेखित १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्धारित फागुन १५ गतेको मितिलाई पछाडी सारेर फागुन २० गतेभित्र चुनाव सम्पन्न गर्ने ब्यवस्था मिलाउन केन्द्रीय समितिले निर्देशन दिएको हो ।
यो पनि पढ्नुस् :
कांग्रेस बाँकेको निर्वाचन पुनः स्थगित हुने संकेत