नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत आज हुने भनिएको उम्मेदवार मनोनयन दर्ता पनि स्थगित भएको छ । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको परिपत्र अनुसार स्थगित गर्नु परेको बताएका हुन् ।
निर्वाचनलाई मध्यनजर राखी प्रकाशित गरिएको कार्यतालिका समेत प्रभावित हुने हुँदा बिहीबार (आज) तोकिएको मनोनयन सम्बन्धी कार्य र १५ गतेको निर्वाचन कार्यक्रम स्थगित गरी पुनः २० गते भित्र जिल्ला कार्यसमितिको सहमतीमा निर्वाचन कार्यक्रम प्रकाशित गरिने आचार्यले बताए ।
निर्वाचन अधिकृतबाट नयाँ कार्यक्रम तालिका र मिति तोक्ने गरी प्रकाशन गर्न निर्वाचन परिचालन समितिको निर्णय भएको हुँदा १५ गतेको निर्वाचन र प्रकाशित कार्यतालिका समेतका कार्यहरु हाललाई स्थगित गरिएको उनले प्रष्ट्याएका छन् । यसअघि निर्वाचन परिचालन समितिको बैठकले आज बिहान बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कायम गरिएकोमा प्राविधिक कारणले दिउँसो १ बजेदेखी ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्णय भएको गरेको थियो ।
केन्द्रीय निर्वाचन समितिले उक्त निर्वाचनलाई आगामी फागुन २० गतेभित्र सम्पन्न गर्ने ब्यवस्था मिलाउन जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मुलुकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधिन राष्टिय महत्वको अति संवेदनशील विषय तथा प्रतिनिधी सभाका सदस्यहरुलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलले ह्वीप जारी गरिसकेको छ ।
पार्टीको ह्वीपका कारण, जिल्ला अधिवेशनका प्रतिनिधी–संघीय सांसदका सदस्यहरु जिल्ला अधिवेशनमा भाग लिन आ–आफनो जिल्लामा तत्काल जान असमर्थ रहेको अवस्थालाई मध्यनजर राखी १५ गतेको निर्वाचन स्थगित गर्नु परेको केन्द्रीय निर्वाचन समितिले उल्लेख गरेको छ ।
उल्लेखित १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्धारित फागुन १५ गतेको मितिलाई पछाडी सारेर फागुन २० गतेभित्र चुनाव सम्पन्न गर्ने ब्यवस्था मिलाउन केन्द्रीय समितिले निर्देशन दिएको हो ।
यो पनि पढ्नुस् :
कांग्रेस बाँकेको निर्वाचन तालिका परिवर्तन, मनोनयन दर्ता भोली नै हुने
कांग्रेस बाँकेको निर्वाचन पुनः स्थगित हुने संकेत