नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत शुक्रबार (आज) उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । जिल्ला समन्वय समिति बाँकेमा बिहान ११ बजेबाट मनोनयन दर्ता सुरु भएको हो ।
सबैभन्दा अगाडी नारायणप्रसाद गौडेलले सभापति पदमा बिहान ११:३० बजेतिर उम्मेदवारी दर्ता गराए । लगत्तै सभापतिमा सुरेन्द्रबहादुर हमालले पनि उम्मेदवारी दर्ता गराएका छन । तेस्रो नम्बरमा सभापति पदमै अर्का उम्मेदवार बादसा कुर्मीले दर्ता गराए । गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन ।
यस्तै हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन । यसैगरी सभापतिका अर्का उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खा र ज्ञानबहादुर ओली समर्थक बसेका छन । उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै सचीवमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराए । यसैगरी सह-सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुले उम्मेदवारी दर्ता गराए ।
उम्मेदवारी दर्ता दिउँसो २ः३० बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत एवम् अधिवक्ता उदयमणि आचार्यले जानकारी दिए । यस्तै शुक्रबार दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने उनले बताए। यसैगरी दिउँसो ३ः४५ देखी ४ः४५ बजेसम्म उम्मेदवारीमाथी संशोधन दावी विरोध, बेलुका ५ बजे दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
यस्तै शनिबार (फागुन १४ गते) बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए । यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।