नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत सभापतिमा सुनिलनरसिंह राणाले पनि उम्मेदवारी दर्ता गराएका छन । उनी वर्तमान जिल्ला उपसभापति हुन् ।
राणाले दिउँसो २:१५ बजे आएर सभापतिमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । उनको प्रस्तावकमा नवीन कुमार भट्ट र समर्थकमा युवराज शाह बसेका छन । राणाले सभापतिसहित महासमिती सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका छन ।
सभापतिमै नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादसा कुर्मीले पनि दर्ता गराएका छन । गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन । यस्तै हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।
यसैगरी सभापतिका अर्का उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खा र ज्ञानबहादुर ओली समर्थक बसेका छन । उप-सभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै सचिवमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी सह-सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुले उम्मेदवारी दर्ता गराए । जिल्ला समन्वय समिति बाँकेमा बिहान ११ बजेबाट सुरु भएको मनोनयन दर्ता दिउँसो २:३० बजेसम्म चलेको थियोे ।
जिल्ला निर्वाचन अधिकृत एवम् अधिवक्ता उदयमणि आचार्यका अनुसार शुक्रबार दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । यसैगरी दिउँसो ३ः४५ देखी ४ः४५ बजेसम्म उम्मेदवारीमाथी संशोधन दावी विरोध, बेलुका ५ बजे दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
यस्तै शनिबार (फागुन १४ गते) बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए । यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।