नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत शुक्रबार उम्मेदवारी मनोनयन दर्ता लगायतका कार्यक्रम सम्पन्न भएका छन् । निर्वाचन कार्यक्रम अन्तरगत शुक्रबार बिहान ११ बजेदेखी दिउँसो २ः३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।
त्यसपछि निर्वाचन कार्यक्रम अन्तरगत शुक्रबार नै उम्मेदवारीमाथी संशोधन दावी विरोध, दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन लगायत कार्यक्रम सम्पन्न भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अन्तरगत नै शनिबार (भोली) बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने शाहीले बताए । मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिनेछ । फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुने तय भइसकेको छ । भोली दिनभर उम्मेदवारी फिर्ता गर्ने समय दिएका छौं, त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर हामी फागुन १९ गतेका लागि मतदान गर्ने तयारीमा जुट्छौं,' शाहीले भने ।
कांग्रेस बाँकेको सभापतिको एउटा पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा उम्मेदवारी दर्ता गर्नेमा नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल, बादसा कुर्मी र सुनिलनरसिंह राणा रहेका छन् । दुई उपसभापति पदका लागि गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराए ।
यस्तै दुई सचिव पदमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सह-सचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोदकुमार थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सदस्यहरुमा भुगोलतर्फ नेपालगन्ज उपमहानगरपालिकाबाट १० जना, कोहलपुर नगरपालिकाबाट ६ जना, राप्ती सोनारी गाउँपालिकाबाट ४ जना, नरैनापुर गाउँपालिकाबाट ४ जना, डुडुवा गाउँपालिकाबाट २ जना, बैजनाथ गाउँपालिकाबाट ४ जना, खजुरा गाउँपालिकाबाट ५ जना, जानकी गाउँपालिकाबाट ४ जना र समावेश सदस्यमा २७ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महासमिति सदस्यमा क्षेत्र नम्बर १ बाट १९ जना, क्षेत्र नम्बर २ बाट १९ जना र क्षेत्र नम्बर ३ बाट १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।