नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । यही फागुन १९ गते हुन लागेको निर्वाचनका लागि सभापति पदमा नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा हुने भएको हो ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका हमाल बाँके क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधी हुन् । यस्तै संविधान सभाका सदस्य रहेका नेता कुर्मी क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि चुनिएर सभापतिको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसैगरी कांग्रेस बाँकेका वर्तमान जिल्ला सदस्य तथा पुर्व क्षेत्रीय सभापति रहेका गौडेल क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएर सभापतिको उम्मेदवार बनेका हुन् । कांग्रेसको विधान अनुसार जिल्ला सभापतिको उम्मेदवार बन्नका लागि महाधिवेशन प्रतिनिधी अनिवार्य निर्वाचित हुनुपर्ने ब्यवस्था छ ।
नेता गौडेल कांग्रेसभित्रको संस्थापन इतर(शेखर कोइराला) प्यानलका रहेका छन् । यस्तै कुर्मी र हमाल भने दुबै जना संस्थापन(शेरबहादुर देउवा) पक्षका हुन् । निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुका प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा सभापति पदमा यि तीन जनाको नाम राखिएको छ ।
यसअघि सभापति पदमै वर्तमान उपसभापति समेत रहेका नेता सुनिलनरसिंह राणाले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, उनले शनिबार दिउँसो निर्धारित समयभित्र आफ्नो उम्मेदवारी मनोनयन फिर्ता लिइसकेका छन् । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले सभापति पदमा अब तीन जनाबीच प्रतिस्पर्धा गराइने बताएका छन् ।
‘सभापति पदमा चार जनाको उम्मेदवारी दर्ता भएको थियो, तर एक जनाको उम्मेदवारी फिर्ता भइसकेपछि अब बाँकी तीन जनाबीचमा मतदान गराइनेछ,’ उनले भने ।
यि तीन जना मध्ये सभापति पदमा कस्ले बाजी मार्ला भनेर नेपाली कांग्रेसका कार्यकर्ताले मात्र नभएर आम बाँकेबासीको मनमा समेत कौतुहलता जागेको छ । देशको पुरानो र ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको बाँकेमा हुन लागेको निर्वाचनलाई जिल्लामा मात्र नभएर केन्द्रसम्म आम रुपमा चासोका साथ हेरिएको छ ।