नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत कांग्रेस बाँकेको सदस्यमा अपांगता तर्फबाट उम्मेदवारी दर्ता गराइसकेपछि युवा नेता अमृतकुमार आचार्यको मनमा धेरै खुलदुली जाग्यो । उनको मनमा एउटै प्रश्न उठ्यो, ‘अब मेरो प्रतिस्पर्धा को सँग होला ?’
आचार्यको कौतुहलताकै बीच उक्त कोटामा बैजनाथ गाउँपालिका वडा नम्बर ५ का मनकुमार पुन मगरले आफ्नो उम्मेदवारी दर्ता गराए । तर, पुनको उम्मेदवारी धेरै समयसम्म कायम रहन सकेन ।निर्वाचन कार्यक्रम अन्तर्गत युवा नेता पुनले आफ्नो उम्मेदवारी मनोनयन फिर्ता लिएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी आचार्य शनिबार अपांगता कोटाबाट स्वतः कांग्रेस बाँकेको जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भए ।
निर्वाचन कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति बाँकेमा शनिबार बेलुका उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा उनी निर्विरोध घोषित भएका हुन् । आचार्यको प्रस्तावकमा कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्ट र समर्थकमा कांग्रेस बाँकेका कोषाध्यक्ष निजामुद्धिन सिद्धिकी बसेका थिए ।
निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिदै सदस्य आचार्यले आफ्नो पार्टीका लागि केही योगदान गर्ने अवसर पाउँदा धेरै खुसी लागेको बताए । ‘पाँच वर्षका लागि नेपाली कांग्रेसको सांगठनिक विकासका लागि एउटा आफ्नो भुमिका निर्वाह गर्ने स्थान पाए, जिल्ला सदस्यको रुपमा, यो हर्षकै विषय हो,’ दूरसञ्चार डटकमसँग उनले भने ‘म अपांग अल्पसंख्या कोटामा निर्वाचित भएको कारणले मेरो प्रमुख जिम्मेवारी त अपांगको आवाजलाई बुलन्द रुपले अगाडी बढाउने हो, त्यसको साथ साथमा सम्पूर्ण सिमान्तकृत वर्गको आवाज उठाउने मेरो कर्तब्य हो ।’
कांग्रेस बाँकेको अधिवेशन नजिक आउँदा उनले आफ्नो सक्रियता धेरै नै बढाएका थिए । पछिल्लो समयमा उनी नेपाली कांग्रेसका नेता, कार्यकर्तामाझ निकै लोकप्रिय बनेका थिए र सबैको माया र शुभेच्छा पाएका थिए । झ्वाट्ट हेर्दा सामान्य ब्यक्ति जस्तै लाग्ने आचार्य दृष्टिविहिन हुन् । उनी दृष्टिविहिन हुन पुगेको केही वर्ष मात्र भएको छ ।
शारिरीक रुपमा अशक्त भएपनि पार्टीको राजनीतिमा सशक्त रुपमा आएका छन् । आचार्य राम्ररी देख्न सक्दैनन, तर आफै हिडडुल गर्न सक्छन् । नेपाल बिद्यार्थी संघ हुँदै नेपाली कांग्रेसमा उनी र उनको परिवारका सदस्यको योगदान धेरै नै छ । उनी शहिदका छोरा पनि हुन् ।
सबैसँग सहजै घुलमिल हुने र सबैलाई समान ब्यवहार गर्ने उनको स्वभाव छ । त्यसकारण उनी सबैका नजरमा प्रिय बनेका हुन् । २०६२ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस दाङको ईकाई सभापति भएका आचार्य राजनीतिसँगै पढाईमा पनि उत्तिकै तेजिला छन । उनले अंग्रेजी विषयमा स्नातकोत्तर पुरा गरेका छन् ।
दाङको भमके निवासी उनका बुवा अनन्तकुमार आचार्यलाई तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा माओवादीले हत्या गरेको थियो । बुवाको हत्यापछि उनको परिवार त्यहाँबाट विस्थापित भएर नेपालगन्ज आएको हो ।
बुवाको सपना पुरा गर्नका लागि भएपनि आफु कांग्रेस राजनीतिमा होमिएको उनी बताउँछन । ‘नेपाली कांग्रेस भएकै कारण बुवाको हत्या भयो, बुवाको सपना पुरा गर्नकै लागि भएपनि म नेपाली कांग्रेसको राजनीतिमा लागेको हुँ, अब म निस्वार्थ रुपले पार्टीको राजनीतिमा रहनेछु,’ उनी भन्छन् ।
यो पनि पढ्नुस् :
कांग्रेस बाँकेको निर्वाचन नजिकिदै गर्दा अमृतकुमारको सक्रियता
शहिदका ‘दृष्टिबिहिन’ छोरा अमृतकुमार होमिदैं कांग्रेस निर्वाचनमा
हेर्नुस् भिडियो अन्तरवार्ता :