नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा सुरेन्द्रबहादुर हमाल नै आधिकारीक उम्मेदवार भएको घोषणा गरिएको छ । पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नेपालगन्जमा सोमबार नेता, कार्यकर्ता र सञ्चारकर्मीका बीचमा हमाल नै संस्थापन पक्षबाट सभापतिको आधिकारीक उम्मेदवार भएको घोषणा गरेका हुन् ।
आफुलाई कांग्रेसका केन्द्रीय पार्टी प्रवक्ता एवम् देउवा प्यानलका नेता डा. प्रकाश शरण महतले फोन गरेर हमाल नै देउवा प्यानलको उम्मेदवार रहेको कुरा बताएको केन्द्रीय सदस्य बाल्मिकीले सुनाए । ‘आज मलाई पार्टी प्रवक्ता ज्युको फोन आयो, उहाँले सिधैं भन्नुभयो, बालुवाटारबाट बोल्दैछु, अहिले शेरबहादुर दाई यही म सँगै हुनुहुन्छ, भर्खरै मलाई भन्नु भएको छ, सुरेन्द्रलाई आधिकारीक उम्मेदवार भन्दिनुपर्यो र बादशाह जीलाई बोलाएर तपाईले सम्झाउनु होला, उहाँलाई पछि संसदीय निर्वाचनमा हेरौंला भनेर तपाईले भन्दिनुपर्यो भनेर भन्नुभयो,’ बाल्मिकीले भने ।
पार्टी सभापतिको धारणालाई प्रवक्ताबाट आधिकारीक रुपमा आइसकेपछि अब देउवा प्यानलको उम्मेदवार हमाल नै भएको उनले बताए । हमालको नाम सोमबार घोषणा भएपछि आसन्न पार्टीको निर्वाचनका लागि संस्थापन पक्षको आधिकारीक उम्मेदवार को हो ? भन्नेमा देउवा निकट नेता, कार्यकर्तामा थप अन्यौलता छाएको छ ।
तर, कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले भने बाँकेमा हुन लागेको पार्टी निर्वाचनमा संस्थापन पक्षबाट बादशाह कुर्मी र सुरेन्द्र हमालले उम्मेदवारी दिएको र उनीहरु दुबै जना संस्थापन पक्षका उम्मेदवार रहेको बताएका छन् । ‘बादशाह कुर्मी र सुरेन्द्र हमाल दुबै जना हाम्रो टिमका उम्मेदवार हुन, पहिलो चरणको निर्वाचनमा दुई मध्ये जसले बढी मत ल्याउँछ, उसलाई अर्को उम्मेदवारले सहयोग गर्नेछ,’ नेता राठौंरले टेलिफोनमा भने ।
घोषणाका क्रममा पुगेका कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले पार्टी सभापति शेरबहादुर देउवाको धारणा प्रवक्ता महतमार्फत केन्द्रीय सदस्य समक्ष आइसकेपछि अब आफुले पनि हमाललाई कांग्रेस बाँकेको सभापतिमा जिताउन भुमिका खेल्ने प्रतिवद्धता जनाए । हमालको पक्षमा चुनावी प्रचार प्रसार बढाउन गुप्ताले सबै नेता, कार्यकर्तालाई आग्रह पनि गरे ।
यस्तै सभापतिका उम्मेदवार हमालले पार्टीको निर्वाचनमा टिमका नेताले आफ्नो नाम अगाडी बढाएकोमा सबैलाई आभार प्रकट गरे । ‘आज केन्द्रले मेरो नाम अगाडी बढाएको छ, केन्द्रीय नेताहरु प्रति म आभार प्रकट गर्दछु,’ उनले भने । जिल्ला सभापतिका लागि आफु लगायत अन्य नेताहरु पनि आकांक्षी रहेकोमा एउटा भद्र सहमती अनुसार पदाधिकारीको प्यानल एउटै बनाइएको बताए । तर, पदाधिकारीका उम्मेदवार छनोट गर्दा एक पक्षिय रुपमा केहीलाई गुमराहमा राखेर बनाउने काम भएको हमालले गुनासो गरे । घोषणाका क्रममा कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापति रमेश गुप्ता, प्रदेश सभा-२ 'ख' का सभापति जितेन्द्र हमाल, कांग्रेस नेता अजितकुमार शर्मा लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।
हमाललाई संस्थापन पक्षको आधिकारीक उम्मेदवार घोषणा गरिएपछि कांग्रेसको निर्वाचनमा ठुलो तरंग आएको छ । संस्थापन पक्षकै सभापतिका अर्का उम्मेदवार बादशाह कुर्मी भने आफ्नो प्रचार-प्रचारमै ब्यस्त छन् । उनले सोमबार मात्र कोहलपुर, राप्ती सोनारी र नरैनापुरमा पुगेर मतदाता भेटघाट गरेका छन् ।