नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापतिको आधिकारीक उम्मेदवार को ? भन्ने अन्यौलताका बीच केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सोमबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भुसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाललाई आधिकारीक उम्मेदवार घोषणा गरे ।
बाल्मिकीले हमाललाई त्यसै घोषणा गरेका भने होइनन् । पार्टीका केन्द्रीय सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई उद्धृत गर्दै पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले बोलेको कुरालाई आधार दिएर केन्द्रीय सदस्य बाल्मिकीले हमालको नाम घोषणा गरेका हुन् ।
आफुलाई कांग्रेसका केन्द्रीय पार्टी प्रवक्ता एवम् देउवा प्यानलका नेता डा. प्रकाश शरण महतले फोन गरेर हमाल नै देउवा प्यानलको आधिकारीक उम्मेदवार रहेको कुरा बताएको केन्द्रीय सदस्य बाल्मिकीले सुनाएका थिए ।
‘मलाई पार्टी प्रवक्ता ज्युको फोन आयो, उहाँले सिधैं भन्नुभयो, बालुवाटारबाट बोल्दैछु, अहिले शेरबहादुर दाई यही म सँगै हुनुहुन्छ, भर्खरै मलाई भन्नु भएको छ, सुरेन्द्रलाई आधिकारीक उम्मेदवार भन्दिनुपर्यो र बादशाह जीलाई बोलाएर तपाईले सम्झाउनु होला, उहाँलाई पछि संसदीय निर्वाचनमा हेरौंला भनेर तपाईले भन्दिनुपर्यो भनेर भन्नुभयो,’ उनले भने ।
पार्टी सभापतिको धारणा प्रवक्ताबाट आधिकारीक रुपमा आइसकेपछि अब देउवा प्यानलको उम्मेदवार हमाल नै भएको उनले बताए । केन्द्रीय सदस्य बाल्मिकीले आफुलाई संस्थापन पक्षको आधिकारीक उम्मेदवार घोषणा गरेपछि हमालले सबैप्रति आभार प्रकट गरे ।
‘आज केन्द्रले मेरो नाम अगाडी बढाएको छ, केन्द्रीय नेताहरु प्रति म आभार प्रकट गर्दछु,’ उनले भने । जिल्ला सभापतिका लागि आफु लगायत अन्य नेताहरु पनि आकांक्षी रहेकोमा एउटा भद्र सहमती अनुसार पदाधिकारीको प्यानल एउटै बनाइएको प्रष्ट्याएका छन् ।
भिडियो हेर्नुस् :