नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका नेता बादशाह कुर्मीले चुनावी मैदानमा आफु धेरै अगाडी बढिसकेको बताएका छन् । ‘म धेरै अगाडी बढिसकेको छु, अब म कुनैपनि हालतमा ब्याक हुदैन, मलाई सबै नेता, कार्यकर्ताहरुले अगाडी बढ्न भनिसक्नु भएको छ,’ नेपालगन्जमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाटमा भने ।
बाँके क्षेत्र नम्बर ३ को अधिवेशन सम्पन्न भएकै दिन आफुले पत्रकार सम्मेलन गरेर जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेको स्मरण गर्दै भने, ‘मैले नै आधिकारीक उम्मेदवार हो भनेर घोषणा गरेको हो, त्यो बेलामा निर्वाचन सर्यो, त्यो दिनदेखी म लाग्दै आएको छु, अहिले कसरी आयो थाहा छैन, म संस्थापन पक्षकै आधिकारीक उम्मेदवार हो, चार महिनादेखी तयारी गरिरहेको छु, म अगाडी बढिसकेको छु ।’
अब आफु ब्याक हुने अवस्थामा नरहेकको भन्दै उनले चुनाव लड्ने र पहिलो चरणमा परिणाम नआएमा दोस्रो चरणमा हुने निर्वाचनमा संस्थापनका दुबै उम्मेदवार एकै ठाउँमा उभिने बताए । ‘पहिलो चरणमा भएन भने हामी संस्थापनको एकै ठाउँमा रहौला, म संस्थापनको उम्मेदवार हो, म लड्छु पनि, नत्र मलाई उम्मेदवारी दिनुभन्दा पहिले सूचना हुनुपथ्र्यो, अनि म आधिकारिकता मान्थ्ये,’ उनले भने ‘म अहिले मान्दैन र हाम्रा साथीहरु पनि कोही मान्ने वाला छैनन् ।’
पत्रकार भेटघाटमा उपस्थित भएका कांग्रेस संस्थापन पक्षका नेताहरुले सभापतिका उम्मेदवार कुर्मीलाई ब्याक नुहन सुझाव दिए । निर्वाचनका लागि संस्थापनबाट आफुहरुले कुर्मीलाई अगाडी सारेर प्रचार प्रसार गरिसकेको उनीहरुको भनाई छ ।
सो क्रममा कांग्रेस बाँकेका उपसभापति फुलाराम थारु, पार्टीका नेता राजकुमार बर्मा, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, क्षेत्र नम्बर १ का पुर्वसभापति माधवराम खत्री, प्रदेश सभा ३ ‘क’ का सभापति केशव शाह, प्रदेश सभा ३ 'ख' का सभापति राजेन्द्र आचार्य, राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर राना, बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, जानकी गाउँपालिका सभापति दयाराम यादव लगायतले सभापतिका उम्मेदवार कुर्मीलाई अगाडी बढ्न सुझाव दिए । बोल्ने नेताहरुले पार्टी सभापति शेरबहादुर देउवा प्यानलका आधिकारिक उम्मेदवार बादशाह कुर्मी नै भएको बताए ।
भिडियो हेर्नुस् :