नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ । ‘निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ, भोली बिहान ९ बजेबाट जिल्ला समन्वय समितिमा मतदान सुरु हुनेछ,’ निर्वाचन परिचालन समितिका प्रवक्ता अर्जुन ओलीले बुधबार बेलुका सार्वजनिक गरेको नोटिसमा भनिएको छ ।
निर्वाचन परिचालन समितिका सदस्य एवम् ब्यवस्थापन संयोजक बीरेन्द्र यादवले बुधबार राती नै मतदान केन्द्रको सम्पूर्ण काम पुरा गरिएको जानकारी दिए । ‘मतदाताले सहज रुपले मतदान गर्न सक्ने गरी हामीले मतदान स्थल निर्माण गरेका छौं, मतदान छिटो र छरितो रुपले सम्पन्न हुने गरी ब्यवस्थापन गरिएको छ,’ उनले भने ।
कांग्रेस बाँकेको निर्वाचन बिहीबार (भोली) जिल्ला समन्वय समिति बाँकेमा सुरु हुदैछ । निर्वाचन कार्यक्रम अनुसार बिहान ९ बजेबाट सुरु हुने मतदान अपरान्ह ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए । निर्वाचन सम्पन्न गर्नका लागि करिव एक सय जना निर्वाचन कर्मचारी तथा ६० जना सुरक्षाकर्मी परिचालन हुदैछन् ।
जिल्ला समन्वय समिति परिसरमा मतदान केन्द्रको सुरक्षा गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालय बाँकेले लिएको छ । मतदानमा जिल्लाका कुल १ हजार ४ सय ९३ जना मतदाता(क्षेत्रीय प्रतिनिधी)ले मतदान गर्नेछन् । निर्वाचनको पुर्वसन्ध्यामा बुधबार दिउँसो जिल्ला निर्वाचन परिचालन समितिका पदाधिकारी, उम्मेदवार तथा सुरक्षाकर्मीबीच भएको छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्नमा सबैले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
छलफलमा सहभागी भएका उम्मेदवारले निर्वाचन परिचालन समितिले निर्माण गरेको आचार संहितालाई पूर्ण रुपले पालना गर्ने प्रतिवद्धता समेत जनाएको सहायक निर्वाचन अधिकृत शाहीले बताए ।