नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको सभापति पदका लागि तीन जनाबीच कडा प्रतिस्पर्धी भइरहेको छ । पटक पटक स्थगित हुदै आएको निर्वाचन बिहीबार(आज) नेपालगन्जमा हुदैछ । जिल्ला समन्वय समिति बाँकेमा बिहान ९ बजेदेखी मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।
निर्वाचनका लागि सभापति पदमा नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको हो । यि मध्ये गौडेल संस्थापन इतर(शेखर कोइराल)प्यानलका हुन्, भने कुर्मी र हमाल संस्थापन(शेरबहादुर देउवा) प्यानलका हुन् । कांग्रेस बाँकेको सभापति बन्न तीनै जनाबीच अन्तिम रस्साकस्सी चलेको छ । निर्वाचनमा १ हजार ४ सय ९३ जनाले मतदान गर्दैछन् ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका हमाल बाँके क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधी हुन् । यस्तै संविधान सभाका सदस्य रहेका नेता कुर्मी क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि चुनिएर सभापतिको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसैगरी कांग्रेस बाँकेका वर्तमान जिल्ला सदस्य एवम् पुर्वक्षेत्रीय सभापति रहेका गौडेल क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएर सभापतिको उम्मेदवार बनेका हुन् । कांग्रेसको विधान अनुसार जिल्ला सभापतिको उम्मेदवार बन्नका लागि महाधिवेशन प्रतिनिधी अनिवार्य निर्वाचित हुनुपर्ने ब्यवस्था छ ।
निर्वाचनमा कुर्मी र हमालबीच संस्थापन पक्षको आधिकारिक उम्मेदवार को हो ? भन्नेमा उनीहरुका आफ्नै दाबी र जिकिर छन् । देउवा प्यानलका केन्द्रीय नेताहरु नै विभाजित छन् । पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले कुर्मीलाई अगाडी सारेका छन्, भने केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले हमाललाई साथ दिएका छन् ।
यस्तै हमालको पक्षमा क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, कांग्रेस प्रदेश सभा १ ‘क’ का सभापति लक्ष्मण थारु, कांगे्रेस प्रदेश सभा २ ‘क’ का सभापति ज्ञानेन्द्र कुमार चौधरी र प्रदेश सभा २ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमाल, कांग्रेस बाँकेका पुर्वसभापति युवराज शर्मा, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठले पनि साथ दिएका छन् ।
अर्का उम्मेदवार कुर्मीलाई क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, प्रदेश सभा ३ ‘क’ का सभापति केशव शाह, प्रदेश सभा ३ ‘ख’ का सभापति राजेन्द्र आचार्य, नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्ट, राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर राना, बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी र जानकी गाउँपालिका सभापति दयाराम यादवको साथ छ ।
यसैगरी गौडेललाई कांगे्रस बाँकेका वर्तमान सभापति किरण कोइराला, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, नेपाली कांग्रेस प्रदेश सभा १ ‘ख’ का सभापति बलराम शर्मा, कांगे्रस कोहलपुर नगर सभापति बीरेन्द्रकुमार शाह र नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँले साथ दिइरहेका छन् ।