नेपालगन्ज : नेपाली कांग्रेसको नयाँ विधान अनुसार दुई जना सचिव निर्वाचित हुने ब्यवस्था छ । सचिव यति महत्वपूर्ण पद हो, जसले पार्टी संगठनलाई नै चलायमान गराउने अधिकार पाउँछ ।
कांग्रेसको १४ औं अधिवेशन अन्तरगत कांग्रेस बाँकेको निर्वाचनमा यही सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा सचिव पदमा टंकप्रसाद काफ्ले आशिष, रबिन्द्र हमाल, सुधान्सु कोइराला र सञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ ।
यि चारै जना युवा नेता हुन् । कांग्रेस बाँकेको सचिव हाँक्न यि चारै जना नेता सक्षम मानिन्छन् । तर, यि मध्ये दुई जनालाई मात्र निर्वाचित गर्नुपर्ने आम मतदातालाई बाध्यता छ । ‘सचिव पदका लागि मैदानमा उत्रिएका चारै जना युवा नेताहरु सबै जना आँखामा नबिझाउने खालका छन्, तर दुई जनालाई मात्र सचिवको जिम्मेवारीमा पुर्याउनुपर्ने हाम्रो बाध्यता छ, त्यसकारण आँखा चिम्लिएर दुई जनालाई मात्र भोट हाल्नुपर्ने अवस्था छ,’ एक जना मतदाताले भने ।
सचिव पदमा कांग्रेसको संस्थापन(शेरबहादुर देउवा) र संस्थापन इतर(शेखर कोइराला) प्यानलले आफ्ना उम्मेदवार बनाएका छन् । संस्थापन पक्षबाट सचिव पदमा हमाल र चौधरी तथा संस्थापन इतरबाट काफ्ले र कोइराला उम्मेदवार हुन् ।
युवा नेतृ चौधरी कोहलपुर नगरपालिकाको वर्तमान उपप्रमुख हुन् । कम्युनिष्टको हाली मुहाली चलेको नगरपालिकामा पनि उपमेयर भएर एक्लै लड्न सफल भएका कारण उनी कांग्रेस पार्टीको राजनीतिभित्र छलाङ्ग मार्न सफल भएकी हुन् । नेतृ सञ्जुको राजनीतिक उचाई यसरी बढ्यो कि फलस्वरुप पार्टीको जिल्ला सचिव हाँक्ने आँट गरेकी हुन् ।
यस्तै कोइराला वर्तमान जिल्ला सभापति किरण कोइरालाका पुत्र मात्र होइनन, कांग्रेस बाँकेको वर्तमान जिल्ला सदस्य पनि हुन् । जिल्ला सदस्य भएर उनले पार्टीको राजनीतिमा धेरै कुरा सिक्ने मौका पाए ।
अहिले पार्टी भित्रको राजनीतिमा आफ्नो उचाइँ ह्वात्तै बढाएका छन् । युवा नेता सुधान्सु कांग्रेस बाँकेका पुर्वसभापति स्वर्गिय डा. अरुण कोइरालाका छोरा र पुर्वप्रधानमन्त्री एवम् कांग्रेसका पुर्वसभापति स्वर्गिय सुशिल कोइरालाको भतिजा हुन् । कोइराला परिवारको ‘लिगेसी’ उनीसँग रहेकाले उनी पनि चर्चामा छन् ।
यसैगरी सचिवकै अर्का उम्मेदवार हमाल कांग्रेस बाँकेका पुर्वसचिव हुन् । तत्कालिन जिल्ला सभापति डा. अरुण कोइरालाको निधन भएपछि पार्टी निकै अप्ठ्यारो अवस्थामा रहँदा जिल्ला सचिव भएर पार्टीलाई हाँकेको छाप उनले कार्यकर्तामाझ छाडेका छन् । यसले गर्दा उनी परिपक्क सचिवका रुपमा परिचित छन् ।
जिल्ला सचिवकै अर्का उम्मेदवार काफ्ले बिद्यार्थी राजनीति हुदै पार्टी राजनीतिमा छिरेका हुन् । युवा बिद्यार्थीको नेतृत्व गरेर पार्टीको राजनीतिमा छिरेका कारण उनले सचिव चलाउने क्षमताको विकास गरेका छन् । सचिव पदका चारै जना उम्मेदवार सक्षम भएपनि मतदाताले कस्लाई जिताउँलान् ? यसबारे सबैको मनमा कौतुहलता जागेको छ ।