नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत कांग्रेस बाँकेको सभापति पदका लागि पुनः मतदान गराइने भएको छ । निर्वाचनमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो ।
यि तीन जना उम्मेदवार मध्ये कसैले पनि कुल खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । सभापति पदका लागि मात्रै दोस्रो चरणको मतदान शुक्रबार (भोली) पहिलो स्थानका गौडेल र दोस्रो स्थानका कुर्मीबीच मात्र हुने जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यको अध्यक्षतामा बिहीबार बेलुका बसेको बैठकले तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेकाले गौडेल र कुर्मीबीच फागुन २० गते शुक्रबार पुनः मतदान गराउने निर्णय गरेको छ ।
निर्वाचन परिचालन समितिका प्रवक्ता अर्जुन ओलीका अनुसार जिल्ला समन्वय समिति बाँकेमा बिहीबार सम्पन्न भएको मत परिणामबाट सभापति पदका उम्मेदवार गौडेलले ५ सय ६९, अर्का उम्मेदवार कुर्मीले ५ सय ३८ र हमालले ३ सय १४ मत प्राप्त गरेका थिए ।
मतदानबाट कुल खसेको मत १ हजार ४ सय ४५ मत मध्ये २४ मत बदर भएको थियो । सभापति पदका लागि शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म जिल्ला समन्वय समिति बाँकेमा मतदान गराइने निर्वाचन परिचालन समितिका सदस्य ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।
‘सभापति पदका लागि मतदान पुनः गराउन सूचना सार्वजनिक गरिसकेका छौं,’ उनले भने ‘सभापति पदका लागि मात्रै मतदान हुने भएकाले छिटो मतदान सम्पन्न गरी पुनः मतगणना कार्य प्रारम्भ गरिनेछ ।’ बिहीबार सभापतिसहित उप-सभापति, सचिव, सह-सचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदमा मतदान गराइएको थियो ।
सभापतिको गणना भएपनि उप-सभापति, सचिव, सह-सचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मत पेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको निर्वाचन परिचालन समितिका सदस्य एवम् ब्यवस्थापन संयोजक बीरेन्द्र यादवले बताए ।
‘सभापति बाहेकको मत पेटिकालाई प्रहरीको सुरक्षामा राखिएको छ, सभापति पदमा दोस्रो चरणको मतदान सम्पन्न भएपछि क्रमशः सबै पदको गणना गरिनेछ,’ उनले भने । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता छन् ।