नेपालगन्ज : नेपाली कांग्रेस बाँकेका नवनिर्वाचित सभापति नारायणप्रसाद गौडेलले पदभार ग्रहण गरेका छन् । नेपाली कांग्रेस बाँकेको कार्यालयमा उनले औपचारिक कार्यक्रममा पदभार ग्रहण गरेका हुन् ।
कांग्रेसको १४ औं अधिवेशन अन्तरगत कांग्रेस बाँकेको हालै सम्पन्न निर्वाचनबाट सभापतिमा गौडेलसहित उपसभापतिमा गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिवमा सुधान्सु कोइराला र सञ्जुकुमारी चौधरी, सहसचिवमा रेणु सिंह ठाकुर र बिनोदकुमार थारु लगायत निर्वाचित भएका थिए ।
निर्वतमान सभापति किरण कोइरालाले उनलाई पद हस्तान्तरण गरेकी थिइन् । पदभार ग्रहणसँगै सभापति गौडेलले आइतबारबाट नै काम सम्हालेका छन् । निर्वतमान सभापति कोइरालाले गौडेललाई नेपाली कांग्रेस बाँकेको माईन्युट, आवश्यक कागजात लगायत हस्तान्तरण गरिन् ।
प्रमाणपत्र वितरण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति गौडेलले कांग्रेस संगठनलाई बलियो बनाउन आफु अहोरात्र खटिने प्रतिवद्धता जनाए । ‘अग्रजलाई साक्षी राखेर भन्न चाहन्छु, नेपाली कांग्रेस बाँकेको इतिहास बनाउन चाहन्छु,’ उनले भने ‘हामीलाई जिताउनु भएको छ, विजयी बनाउनु भएको छ, कसैको हार र जित होइन, पार्टी संगठन बनाउने जिम्मेवारी मात्रै पाएको हुँ ।’
उनले पार्टीलाई अगाडी बढाउने क्रममा सबैलाई समेटेर लैजाने पनि बताए । निर्वतमान सभापति कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, नेपाली कांग्रेस जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रमुख निर्वाचन अधिकृत उदयमणि आचार्य, पुर्वमन्त्री एवम् कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्रबहादुर हमाल, पुर्वसभापति कृष्णमान श्रेष्ठ, संविधान सभा सदस्य बादशाह कुर्मी, पुर्वसांसद ज्ञानु केसी, लुम्बिनी प्रदेशका सांसद मो. याकुब अन्सारी र शंकर गिरी लगायतले बोलेका थिए ।
सो क्रममा प्रमुख निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सभापति, महासमिति सदस्य, जिल्ला कार्यसमिति पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधी र प्रदेश महाधिवेशन प्रतिनिधी (अपांगता) लाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
अहोरात्र खटिएर शान्तिपूर्ण र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निभाएको भन्दै नेपाली कांग्रेस जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रमुख निर्वाचन अधिकृत उदयमणि आचार्य, निर्वाचन परिचालन समितिका सदस्य प्रहलाद कार्की, बीरेन्द्र यादव, समितिका सदस्य एवम् प्रवक्ता अर्जुन ओली र दिवाकर खनाललाई खादा तथा टिका लगाएर सम्मान गरिएको थियो ।
यो पनि पढ्नुस् :
बाँके कांग्रेसमा गौडेलको चार वर्षे नेतृत्व, को-को भए निर्वाचित ? (पुरा विवरण हेर्नुस्)
कांग्रेस बाँकेको सभापतिमा गौडेल निर्वाचित