नेपालगन्ज : नेपालगन्जलाई सोमबार बालविवाह मुक्त उपमहानगरपालिका घोषणा गरिएको छ । सोमबार उप–महानगरपालिकाका आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई वाल विवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै वाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्वर वडालाई वाल विवाहमुक्त वडा घोषणा गरिएको हो । नगरका २३ वडालाई नै वाल विवाहमुक्त वडा घोषणा गरिएपछि उप-महानगरपालिकालाई नै वाल विवाहमुक्त पालिका घोषणा गरिएको हो ।
घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई वाल विवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिर्दै फागुनभित्रै वाल विवाह मुक्त घोषणा गर्ने नेपालगन्ज उपमहानगरपालिकालाई १० लाख पुरस्कार प्रदान गरिने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले चुनौतीका बीचमा पनि नगरलाई वाल विवाहमुक्त घोषणा गर्न सकिएको बताइन् । उनले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् । घोषणामा साथ र सहयोग गर्ने सबैलाई उनले आभार ब्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एमालेका नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, वडा नम्बर १७ का वडा अध्यक्ष अजय पाठक लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।