नेपालगन्ज : नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई जिताउने अर्जुनदृष्टिका साथ कार्यतालिका बनाएर योजनाबद्ध ढंगले पार्टीलाई अगाडी बढाउने बताएका छन् ।
नेपालगन्जमा मंगलबार पत्रकारमाझ आफ्नो योजना तथा कार्यक्रमबारे धारणा राख्दै उनले बाँकेका सबै वडा, स्थानीय तह, प्रदेश निर्वाचन र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाई जिल्लाभर चारतारे झण्डा फरफराउने गरी आफु नेतृत्वको टिम लाग्ने बताए । पार्टीभित्र जोडिन नसकेका तमाम व्यक्तित्वलाई पनि जोडेर संगठित कांग्रेस बनाउने अभिभाराका साथ आफु अहोरात्र खटिने सभापति गौडेलले बताए ।
‘पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा हार जीत स्वभाविक हो, आन्तरिक लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनलाई स्वभाविक प्रक्रिया ठान्दै अब हामी सबै कांग्रेसजन अझ सुदृढ र सबल कांग्रेस बनाउन लाग्नुपर्दछ,’ उनले भने ‘अधिवेशनमा जीत हासिल गर्ने र उपविजेता बन्ने सबैलाई समेटेर उर्जावान कांग्रेस बनाउन दृढ संकल्पका साथ अगाडि बढ्नेछु ।’ सुदृढ र संगठित कांग्रेसभित्र मात्रै सबैको उज्ज्वल भविष्य सुरक्षित हुने तथ्यलाई हृदयंगम गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकतावद्ध भई पार्टी निर्माणमा लाग्न गौडेलले आह्वान गरे ।
‘पार्टीभित्र उच्च मूल्यांकनको परिपाटी बसाउन लाग्नेछु, नेता कार्यकर्ताहरुको आत्मवल बढाउँदै लैजान सबैको आत्मसम्मान र आत्मस्वाभिमानको हेक्का राख्नेछु, कसैमाथि पनि अपमान र अन्याय हुने अवस्था सिर्जना हुन दिनेछैन,’ उनले भने ‘स्वाभीमानी कांग्रेस भएर पार्टी जीवनमा अग्रसर हुने वातावरण सिर्जना गर्नेछु, पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई क्रियाशील बनाउने कार्ययोजनाका साथ मेरो नेतृत्वको जिल्ला कार्यसमिति क्रियाशील रहनेछ ।’
सभापति गौडेलले पार्टीभित्रका विकृती, विसंगती र अराजक गतिविधिलाई निस्तेज पार्दै अनुशासित र मर्यादित संगठन बनाउनतर्फ लाग्ने प्रतिवद्धता पनि जनाएका छन् । पार्टीको मुखपत्र प्रकाशन गरी पार्टीका गतिविधिहरु जनतासमक्ष पुर्याउने, पार्टी कार्यालयबाट सञ्चालन गरिने विभिन्न क्रियाकलापलाई प्रविधिमैत्री बनाउने, समावेशिताका आधारमा सबैलाई समावेश गरी अवसर प्रदान गर्ने, संविधान पिता स्वर्गीय सुशील कोइरालाको शालिक उपयुक्त स्थानमा स्थापना गर्न पहल गर्ने लगायतका योजना आफुहरुसँग रहेको बताए । पत्रकारको जिज्ञासामा उनले आन्तरिक चुनाव भएकाले केही समयका लागि प्यानल बनेपनि अब पार्टीभित्रको गुट समाप्त भइसकेको बताए ।
कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य प्रेम केसी, जिल्ला उपसभापतिद्धय गोपालप्रसाद अधिकारी र कृष्ण कार्की, सचिव सञ्जुकुमारी चौधरी, सहसचिव रेणुसिंह ठाकुर, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, जिल्ला कार्यसमिति सदस्यहरु, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतको उपस्थिती रहेको थियो ।