नेपालगन्ज : पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालनमा आएको छ । नेपालगन्जको कारकाँदोस्थित होटल सिद्धार्थ भ्युमा बिहीबार(आज) देखी २८ गतेसम्म ट्राभल मार्ट सञ्चालनमा आएको हो । बिहान बागेश्वरी मन्दिरमा मार्चपास गरेर ११ बजे विधिवत रुपमा उद्घाटन गरिने आयोजकले जनाएको छ ।
कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार तथा प्रर्वद्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सहआयोजनामा मार्ट सञ्चालनमा आएको हो ।
वेष्टर्न ट्राभल मार्ट नेपालका अध्यक्ष श्रीराम सिग्देलका अनुसार प्रदेश स्तरिय पर्यटन ब्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन ब्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजना गरिएको हो ।
उक्त मार्टमा पर्यटकीय गतिविधी सम्बन्धी स्टल राख्नुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथीलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराइने ब्यवसायीले बताएका छन् । यसका लागि भारतबाट करिव ५० जना पर्यटन ब्यवसायी आइपुगेका छन् । उक्त मार्टमा नेपाल र भारतका गरी कुल ३ सय बढी पर्यटन ब्यवसायी सहभागी भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार उनीहरुलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको भ्रमण गराइनेछ । वेष्टर्न ट्राभल मार्टमा आउने अतिथीका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएका छन् । यसअघि गत मंसिर २८ देखी पुष १ गते सम्म गर्ने तय भएपनि कोभिड १९ महामारीका कारण उक्त मार्ट स्थगित भएको थियो ।