नेपालगन्ज : नेपाली कांग्रेस बाँकेका निवर्तमान कार्यसमिति तथा १४ औं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि खटिएका जिल्ला निर्वाचन परिचालन समितिका पदाधिकारीलाई सम्मान गरिएको छ । कांग्रेस बाँकेको आयोजनामा शनिबार पार्टी कार्यालयमा एक समारोहका बीच सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् पुर्वमन्त्री दीपक गिरी, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्य, सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, निर्वाचन परिचालन समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरी ज्ञवाली, बीरेन्द्र यादव, अर्जुन ओली, प्रह्लादबहादुर कार्की, प्रकाश लामिछाने, प्रभाकर भट्टराई, पुष्पा शर्मा ज्ञवाली, ऋषिराज शर्मा लगायतलाई टिका र गम्छा ओढाएर सम्मान पत्रसहित सम्मान गरेका हुन् ।
यस्तै कांग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइराला, निर्वतमान उपसभापति सुनिलनरसिंह राणा र फुलाराम थारु, निर्वतमान सचिव, सहसचिव, कार्यसमिति सदस्य लगायतलाई टिका र गम्छा ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले पार्टीमा योगदान गर्नेको सम्मान हुनुपर्ने बताए । ‘पार्टीमा योगदान गरेका ब्यक्तिको उचित रुपले सम्मान हुनुपर्छ, सम्मान गर्दा पार्टीले कत्तिपनि कन्जुस्याई गर्नु हुदैन,’ उनले भने ।