नेपालगन्ज : सञ्चार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौताका विषयमा बाहिर अनेक अफवाह र भ्रम फैलाइएको बताएका छन् । उनले एमसिसी नेपालको संविधान र कानुनभन्दा माथी नभएको पनि प्रष्ट्याए ।
‘एमसिसी सम्झौता पल्टाएर हेर्नुस् एमसिसी र नेपालको कानुन बाझियो भने नेपालको संविधान माथी हुन्छ भनेर स्पष्ट रुपमा लेखिएको छ,’ नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने ।
कोरोना महामारीका कारण विश्वभरको अर्थतन्त्र कमजोर हुन पुगेको र नेपाल पनि अछुतो रहन नसकेको बताए । ‘कमजोर अर्थतन्त्रमा कोभिडको पनि धेरै ठुलो प्रभाव परेको छ, हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो, पाकिस्तानको जस्तो अवस्थामा पुगेको छैन,’ उनले भने ‘अर्थतन्त्रलाई मजबुद बनाउन सरकारको ध्यान केन्द्रीत छ, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ ।’
ब्यापार घाटा कम गर्नका लागि सबैभन्दा सबल आधार बिद्युत निकासी नै भएको बताए । ‘त्यसका लागि हामीलाई ट्रान्समिसन लाईको आवश्यकता छ, एमसिसीबाट प्राप्त ट्रान्समिसन लाईनलाई हामीले पाँच वर्षमा पुरा गर्न सक्यौं र ३० हजारभन्दा बढी मेगावाट बिद्युत क्षमता छ, यसले ब्यापार घाटालाई कम गरेर मुलुकको पुर्वाधार निर्माण र सामाजिक सुरक्षामा हामी खर्च गर्न सक्छौं,’ मन्त्री कार्कीले भने । उनले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताए ।
विशेष परिस्थतीमा विशेष उद्देश्यका साथ गबन्धनको निर्माण भएको र यो गठबन्धनले संविधानको रक्षा गरेको ठोकुवा पनि गरे । ‘यो गठबन्धनले कानुनी शासनको प्रत्याभुती गरेको छ र सुशासन दिने जुन सरकारको दायित्व हो, त्यो सरकारले जनतालाई प्रत्याभुत गरिरहेको छ,’ उनले भने ‘यो गठबन्धन तीनै तहको निर्वाचन सम्म कायम रहन्छ ।’ आसन्न निर्वाचनमा आवश्यकता अनुसार वास्तविकतालाई गम्भिर रुपले विश्लेषण गरेर अगाडी बढ्ने कांग्रेस नेता समेत रहेका कार्कीले बताए ।
गठबन्धन कसैका विरुद्ध नगरिएको प्रष्ट्याउँदै उनले भने, ‘यो कुरा धेरै पटक सम्माननीय प्रधानमन्त्री ज्युले पनि अभिब्यक्त गरिसक्नु भएको छ, यो गठबन्धन मुलुकको एकता र स्थिरताको लागि हो, कसैका विरुद्ध होईन ।’ कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी जनताको भावना अनुसार चल्ने बताए ।
सरकारको ध्यान तीनै तहको निर्वाचन सम्पन्न गर्नमा केन्द्रीत रहेको भन्दै कार्कीले भने, ‘समाजलाई एकतावद्ध गराएर तीन वटै तहको निर्वाचनलाई शान्तिपुर्ण र निश्पक्ष रुपमा सम्पन्न गर्ने हो ।’ सञ्चारकर्मीको जिज्ञासामा उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरामा सरकारले कल्पना पनि गर्न नसक्ने बताए ।
‘प्रभावकारी र ब्यवस्थित बनाउने र विकृतीबाट जोगाएर समाजलाई सही सूचना प्रदान गर्नका निम्ति हामी सबैको कर्तब्य हो, एउटा पनि भ्रम नरहोस्, जुन अभिब्यक्ति स्वतन्त्रता संविधानले प्रदत्त गरेको छ, यसलाई कुण्डित गर्ने कुरामा सरकारले कल्पना पनि गर्न सक्दैन,’ उनले भने । सरकारले युटुवलाई नियमन गरेर प्रभावकारी र ब्यवस्थित बनाउन मात्र खोजिएको बताए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, संविधान सभा सदस्य बादशाह कुर्मी, मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, प्रेस युनियनका उपमहासचिव प्रेम केसी, केन्द्रीय सदस्य जयसिंह केसी, कांग्रेस बाँकेका निर्वतमान उपसभापति सुनिलनरसिंह राणा, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, सहसचिव बिनोद थारु, क्षेत्रीय सभापतिद्धय पोषण केसी र मोहम्मद नक्की खाँ, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतको सहभागिता रहेको थियो । युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको भेटघाटमा अध्यक्ष ओलीले सञ्चार मन्त्री कार्कीलाई खादा ओढाएर स्वागत गर्दै बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो समेत प्रदान गरेका थिए ।