काठमाडौं : निर्वाचन आयोगले पत्रकार र सञ्चार संस्थानलाई राजनीतिक दल तथा उनीहरुका प्रतिनिधिहरुबाट आर्थिक सहयोग नलिन आग्रह गरेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा कुनैपनि राजनीतिक दलबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने उल्लेख छ ।
आगामी स्थानीय तहको निर्वाचनका लागि आयोगले पत्रकार तथा सञ्चार संस्थानको हकमा पनि लागु हुनेगरी आचारसंहिता जारी गरेको हो । सञ्चार संस्थानलाई कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न पनि रोक लगाएको छ ।
यस्तै जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था लगायत कुनैपनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न पनि पाइने छैन ।
आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने उल्लेख छ ।
सञ्चार संस्थानले राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्नुपरेमा आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने र त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्नेछ ।
आयोगले मौन अवधिमा भने त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने जनाएको छ । यसैगरी एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर लगायतका विद्युतीय माध्यम प्रयोग गरी कुनै सामाग्री प्रकाशन प्रसारण गर्ने तथा त्यस्ता सामाजिक सञ्जालमा लाइक शेयर तथा कमेन्ट गर्न नपाइने भएको छ ।
पत्रकार तथा सञ्चार संस्थानहरुले सूचनाको स्रोतको गोपनीयता भंग गर्न पनि नपाइने आचारसंहितामा उल्लेख छ । त्यस्तै उम्मेदवार तथा उनीहरुको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने तथा गलत र भ्रामक समाचार प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ ।
निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जाल, अनलाईन छापामाध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष विपक्षमा सन्देश प्रकाशन गर्ने, सूचना शेयर गर्ने, कमेन्ट गर्ने लगायतका गतिविधि पनि नगर्न आयोगले आग्रह गरेको छ ।
उक्त अवधिमा सञ्चार संस्थानले राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रमहरु पनि गर्न पाउने छैनन् । आचारसंहितामा निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्बिर वा अन्य प्रकाशन पनि छाप्न नहुने उल्लेख छ ।