काठमाडौं : युएईमा जारी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक सिरिजमा नेपालले खराब ब्याटिङ गरेको छ । युएईले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गरेपछि ४८ रनले पराजित भयो । नेपालका लागि रोहितकुमार पौडेलले ४६ र ज्ञोन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन् ।
चौथो ओभरमा दुवै ओपनरलाई गुमाएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछि भर पर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी पनि ४ रनमै पभेलियन फर्किएपछि नेपाल थप दबाबमा आएको थियो । चौथो विकेटका लागि ज्ञोनेन्द्र मल्ल र रोहितले ५५ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
क्रिजमा टिकेका ज्ञानेन्द्र र रोहित लागातार ओभरमा आउट भएपछि घरेलु मैदानमै युएईलाई हराउने नेपालको सम्भावना कमजोर बनेको थियो । त्यसपछि लागातार विकेट गुमाएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो । नेपालका आरिफ सेख र कमलसिंह ऐरी शुन्य रनमा आउट हुँदा करण केसी र सोमपाल कामीले समान ६ रन बनाए ।
यस्तै कप्तान सन्दीप र आसिफ सेखले ७ रन बनाए भने सागर ढकाल शून्य रनमा नटआउट रहे । सामान्य लक्ष्यमा पनि युएईलाई जित दिलाउन स्पिनर बिशाल हमिदले घातक बलिङ गरे । उनले ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिए ।
यस्तै जुनैद सिद्दिकीले ७.१ ओभरमा १ मेडनसहित १८ रन मात्र खर्चेर ३ विकेट लिँदा जाहुर खान र रोहन मुस्तफाले पनि १ विकेट लिए । सोमापाल कामी र करण केसीले घातक बलिङ गरेपछि युएईले नेपालाई १६९ रनको सामान्य लक्ष्य दियो । नेपाली फास्ट बरले धारिलो बलिङ गरेपछि सारजाहमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रन मै अलआउट भयो ।
उसका रोहन मुस्तफा र चुन्डाङगापोइल रिचवानले समान ४० रन बनाउँदा मुहम्मद वासिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल र करणले घातक बलिङ गरे ।
सोमपालले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने करणले ७.३ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि समान १ विकेट लिए ।