नेपालगन्ज : नेपाली कांग्रेसका प्रभावशाली नेता एवम पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले यसपटक स्थानीय तहको निर्वाचनका लागि समयमै उम्मेदवारको टुंगो लगाइने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले यही चैत महिनाभित्रमा उम्मेदवारको टुंगो लगाउन पार्टीले सक्दो कोसिस गर्ने बताए । पार्टीमा लागेका र बलिया ब्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने तर टिकट वितरणमा कसैमाथी पनि पक्षपात गर्न नहुने नेता महतले जोड दिए ।
‘अन्तिम दर्ता गर्ने समयमा पनि कस्ले टिकट पाउने भनेर कुर्दैनौं, चैत महिना भित्र नै यसको टुंगो लगाउने कोशिस हामीले गर्छौ, त्यसको लागि निर्णय गर्ने अधिकार पनि विभिन्न तहमा प्रत्यायोजित छ, विकेन्द्रीत छ,’ उनले भने ‘पार्टीले चाही संयन्त्र बनाएर त्यसलाई सम्बोधन गर्नेछ ।’
निर्वाचनका विषयमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने नेता महतको धारणा छ । ‘गठबन्धनको सम्भावनालाई अहिले नकार्न सकिदैन, तर कसरी हुन्छ, कुन तहमा हुन्छ भन्ने कुराको ‘मोडालिटी’ अहिले तयार भएको छैन,’ उनले भने ‘अरुको प्रस्ताव कस्तो आउँछ, त्यसमा निर्भर गर्छ, यि तमाम कुरामा निर्भर हुन्छ, नेतृत्वमा तहमा छलफल हुन्छ ।’
स्थानीय तहको परिस्थतीका आधारमा पनि पार्टीको केन्द्रीय समितिले नीति बनाउने र सोही नीति अनुसार अगाडी बढ्ने प्रष्ट्याए । गठबन्धनका विषयमा अहिले भावनामा बगेर मात्र केही नहुने उनको धारणा छ । पार्टीको केन्द्रीय समिति बैठक यही चैत ११ गते बस्ने र कसरी जाने भन्ने दिशा निर्देश सोही बैठकले गर्ने जानकारी दिए ।
एमसिसीले नेपालको अन्र्तराष्ट्रिय जगतमा नेपालका छवि गिरेको बताए । नेपाली कांगे्रेसका कारण यर्थात कुरा स्थापित भएको बताए । एमसिसीका विषयमा विपक्षी दलले भ्रमको खेती गरेको उनको आरोप छ । एमसिसी अनुदान विकास सहयोग मात्र भएको र यो नेपालको आवश्यकता अनुसार सहयोग स्वरुप आएको बताए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कांग्रेसका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
पार्टीको कार्यक्रममा सहभागी हुन सल्यान जाने क्रममा काठमाडौंबाट शनिबार आइपुगेका प्रवक्ता महतको उपस्थितीमा युनियन बाँकेले पत्रकार भेटघाट कार्यक्रम राखेको हो । सो क्रममा युनियन बाँकेका अध्यक्ष ओलीले पार्टी प्रवक्ता महतलाई खादा ओढाएर स्वागत गर्दै प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो हस्तान्तरण गरेका थिए । कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।