नेपालगन्ज : आठौं प्रधानमन्त्रीकप आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल भलिबल संघले चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रधानमन्त्री कपका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताको सबै तयारी पुरा भएको बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । उनका अनुसार प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्ने भएका छन् । उक्त प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई वटा टिमको सहभागिता रहनेछ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तिसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब सहभागी हुनेछन् ।
साविक विजेता समेत रहेको चर्चित एपिएफ क्लब यसपटक सहभागी नहुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख र चौथो हुनेले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपिएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपिएफ, छैटौंमा पुलिस र सातौंमा एपिएफ च्याम्पियन बनेका थिए ।