नेपालगन्ज : नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बुधबार आफ्नै कार्यालयमा गरेको भेटघाटमा बोल्दै उनले अब कुनैपनि हालतमा महाधिवेशन पछाडी नसर्ने जिकिर गरे ।
पटक पटक स्थगित हुदै आएको युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते बाग्मती प्रदेशको हेटौडामा गर्ने निर्णय युनियनले केही दिनअघि गरेको थियो । यसअघि २०७६ सालमा नेपालगन्जमा महाधिवेशन गर्ने निर्णयसहित केही तयारी गरिएपनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।
महाधिवेशनमा सक्रिय सहभागिता जनाएर युनियनको भावी नेतृत्व चयन गर्न वरिष्ठ उपाध्यक्ष आचार्यले युनियन बाँकेका अगुवालाई आग्रह गरे । ‘प्रेस युनियनका थुप्रै शाखाहरु छन्, तर बाँके शाखाको छुट्टै अस्तित्व छ, यो महत्वपूर्ण र धेरै अर्थ राख्ने शाखा पनि हो, महाधिवेशनमा तपाईहरुले सक्रिय सहभागिता जनाएर युनियनको भावी नेतृत्व निर्वाचित गर्नु हुनेछ भन्नेमा मलाई विश्वास छ,’ उनले भने । आफु वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको हुँदा अब केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने र निर्वाचित गराउन आचार्यले आग्रह पनि गरे ।
सो क्रममा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले वरिष्ठ उपाध्यक्ष आचार्यलाई खादा ओढाएर स्वागत गर्दै युनियनको केन्द्रीय महाधिवेशनको मिति तोकिएपछि जिल्लाका युनियनकर्मीहरु धेरै उत्साहित भएको बताए । प्रेस युनियन बाँके शाखाले आसन्न महाधिवेशनमा सक्रिय सहभागिता जनाउने अध्यक्ष ओलीले प्रतिवद्धता जनाए ।
भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनका उप-महासचिव प्रेम केसी, युनियन बाँकेका सल्लाहकार एवम् पुर्वअध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुऋऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी लगायतले आ-आफ्नो सुझाव तथा धारणा राखेका थिए । भेटघाट कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।