काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सीमापार रेलसम्बन्धी एक प्राविधिक सहयोग समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । प्रधानमन्त्री देउवा शुक्रबार तीन दिने औपचारिक भारत भ्रमणमा जाँदैछन् ।
भ्रमणमा नेपालले भारतसँग राख्नुपर्ने सम्भावित एजेन्डाबारे परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरिरहेको छ । भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारी पत्रको मस्यौदा भारतीय पक्षसँग आदान प्रदान भइसकेको छ ।
मस्यौदाअनुसार रेल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा भारत सरकारले सघाउनेछ । मन्त्रालयका एक अधिकारीका अनुसार नेपालका विश्वविद्यालयको पाठ्यक्रममा रेल्वे विषय समावेश गरी अध्यापन गराउन भारतले सहयोग गर्ने पनि मस्यौदामा उल्लेख छ ।
त्यस्तै, रेलसेवामा काम गर्ने इन्जिनियरलाई तालिम दिने र भारतले रेल विषय अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराउने पनि उक्त मस्यौदामा उल्लेख छ । भ्रमणमा जनकपुर-जयनगर सीमापार रेलको औपचारिक उद्घाटन हुने भएको छ ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट रेल उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणमा काठमाडौँ-रक्सौल सीमापार रेलमार्गबारे छलफल हुनेछ । भारतले काठमाडौँ-रक्सौल रेलमार्गको लोकेसन सर्भे गरिरहेको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त रेलमार्ग निर्माणका लागि अनुदानका लागि आग्रह गर्नसक्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
भ्रमण तयारीमा संलग्न अधिकारीका अनुसार आगामी असारअघि नै रासायनिक मल पठाइदिन भारतलाई नेपालले आग्रह गर्ने भएको छ । नेपाल र भारत सरकारबीच तीन साताअघि मल खरिदसम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको मलको ३० प्रतिशत परिमाण आपूर्ति हुनुपर्नेछ ।
उक्त सम्झौताअनुसार पाँच वर्षका लागि नेपाललाई भारतीय बजारमा रहेको बिक्री मूल्यमा भन्सार र ढुवानी खर्च जोडेर मल बिक्री गरिनेछ । नेपालले पहिलो वर्षमा युरिया र डीएपी गरी १ लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नेछ । सन् २०२५÷२६ सम्म पुग्दा २ लाख १० हजार मेट्रिक टन पुग्ने कृषि मन्त्रालयले जनाएको छ ।
स्रोतका अनुसार भारतले नेपालमा १३३ वटा स्वास्थ्य चौकी निर्माण गरिदिनेबारे पनि एक समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीको भ्रमणमा सीमा समस्याका विषयमा छलफल हुनसक्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । ‘सीमा समस्याबारे भ्रमणमा कु्नै न कुनै तहमा छलफल हुनसक्छ,’ परराष्ट्रमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भनिन् ।
खासगरी कालापानी र लिपुलेक क्षेत्रमा भारतले वर्षौदेखि नेपाली भूमि अतिक्रमण गर्दै आएको छ । नेपालले सीमा विवाद हल गर्न आग्रह गरे पनि भारतले संवादका लागि सकारात्मक जवाफ दिएको छैन । भारत र नेपालले आआफ्ना राजनीतिक नक्सामा कालापानी क्षेत्र राखेका छन् ।
प्रधानमन्त्रीको भ्रमणमा विगतमा नेपाल र भारतबीच भएका सहमति र सम्झौता कार्यान्वयनबारे छलफल हुनेछ । भारतले नेपालका विकास परियोजनामा दिँदै आएको ऋण सहयोगबारे पनि छलफल हुनेछ । नेपाल र भारतबीचको पारवहन सन्धि तथा वाणिज्य सन्धि नवीकरणबारे प्रधानमन्त्रीको भ्रमणमा छलफल हुने भएको छ । यी दुवै सन्धि हरेक सात वर्षमा नवीकरण हुने गर्छ ।
सन् २०१६ मा नवीकरण गरिएका यी सन्धिको म्याद अब एक वर्षभित्र सकिँदैछ । ‘प्रधानमन्त्रीको भ्रमणमा सहमति भए पारवहन र वाणिज्य दुवै सन्धि नवीकरण हुने सम्भावना पनि छ,’ वाणिज्य मन्त्रालयका एक अधिकारीले नेपाल खबरसँग भने । उर्जा मन्त्रालयका एक अधिकारीका अनुसार उर्जा व्यापारबारे एक समझदारी पत्रमा हस्ताक्षरका लागि गृहकार्य भइरहेको छ । तर प्रधानमन्त्रीको भ्रमणमा हस्ताक्षर हुने वा नहुने टुंगो लागिसकेको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणमा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई चाँडै टुग्याउनेबारे सामान्य छलफल हुनेछ । ‘पानी बाँडफाँट लगायत धेरै विषय टुंगिन बाँकी रहेकाले पञ्चेश्वरलाई अहिले नै निष्कर्षमा पुर्याउने पक्षमा प्रधानमन्त्री नरहेको बुझेका छौँ,’ उर्जाका अर्का एक अधिकारीले भने । तर भारतीय पक्षले पञ्चेश्वरमा ठोस निर्णय गर्न ताकेता गरिरहेको छ ।
अर्का एक अधिकारीका अनुसार भारतसँग नेपालले थप हवाई रुट माग गर्नेछ । विगतमा भारतले नेपाललाई जनकपुर र विराटनगरबाट हवाई प्रवेश विन्दुमा सहमति जनाएको थियो । अहिले नेपालले भैरहवा हुँदै नयाँ एयर इन्ट्री रुट माग्नेछ । भ्रमणमा नेपालमा हुने तीन तहको चुनावका लागि भारत सरकारसँग प्राविधिक सहयोगका लागि आग्रह गर्ने तयारी छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीसँगको प्रतिनिधिमण्डल स्तरमा हुने वार्तामा यसबारे आग्रह गर्नेछन् ।
भारतीय विदेश मन्त्रालयका आर्थिक मामिला हेर्ने एक सहसचिवले अर्थ मन्त्रालयका वैदेशिक सहायता हेर्ने सहसचिव ईश्वरी अर्यालसँग नेपालका विकास परियोजनामा भारतको जारी ऋण सहयताबारे मंगलबार छलफल गरेका छन । उनी सोमबार नेपाल आएका हुन् ।
नेपालमा भारतको ऋण सहयोगमा बन्ने ४६ सडकमध्ये २२ वटाको काम पुरा भएको छ । त्यस्तै ४ वटा विद्युतीय प्रसारण लाइनमध्ये एउटा पुरा भइसकेको छ । ती परियोजनामा भारतको एक्जिम बैंकमार्फत् ऋण सहयोग नेपालले लिएको छ । परराष्ट्र प्रवक्ता लम्सालले भ्रमणका एजेन्डाबारे गृहकार्य जारी रहेको बताइन् । ‘गृहकार्यकै चरणमा भएकाले मैले भ्रमणका एजेन्डाबारे केही भनिहाल्ने अवस्था छैन,’ उनले भनिन् ।
मन्त्रालयका अर्का एक अधिकारीका अनुसार २५ देखि ३० जनाको टोली भारत भ्रमणमा जाने तयारी छ । टोलीमा केही मन्त्री, सचिव र व्यापारी समेत हुनेछन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा गरिसकेका छन ।
भारतीय समकक्षी मोदीको निमन्त्रणामा देउवा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा जाने भएका हुन । परराष्ट्र मन्त्रालयका अनुसार देउवाले १९ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्नेछन । यस्तै देउवाले त्यहाँका उपराष्ट्रपति बेंकया नायडुसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतीय राष्ट्रपति देश बाहिर हुने हुँदा देउवाको उनीसँग भेट हुनेछैन । मोदीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । -नेपाल खबरबाट साभार