बाँके (कुमुम) : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखी अगैयासम्म राप्ती नदीमा साहसिक जल यात्रा (र्याफटिङ) सञ्चालन गरिएको छ । यो लुम्बिनी प्रदेश कै पहिलो साहसिक जलयात्रा रहेको बताइएको छ ।राप्ती सोनारी गाउँपालिका सँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले साहसिक जलयात्रा सञ्चालनमा ल्याएको हो । साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले शुक्रबार विधिवत रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटनसँगै मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का लगायत सरोकारवालाले साहसिक जलयात्रा गरे ।
कुसुमदेखि अगैयासम्म साहसिक जलयात्राको दुरी करिव २७ किलोमिटर रहेको र उक्त दुरी झण्डै साढे ५ देखी ६ घण्टामा पुरा गर्न सकिने पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख ज्ञवालीले बताए । पर्यटन प्रवद्र्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साहसिक जलयात्रा सुरु गरिएको पर्यटन मन्त्री चौधरीले बताए । ‘राप्ती नदीमा अब नियमित रुपमा साहसिक जलयात्रा सञ्चालन हुन्छ, यसका लागि हामीले स्थानीय स्तरमै दक्ष जनशक्ती उत्पादन गर्ने तयारी गरिरहेका छौं,’ उनले भने ।
राप्ती नदीमा साहसिक जलयात्रा सञ्चालन गर्नका लागि लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयले यसअघि सम्भाब्यता अध्ययन गरेको थियो । सम्भाब्यता अध्ययन पश्चात बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमदेखी अगैया सम्म साहसिक जलयात्रा सञ्चालनका लागि कार्यक्रम स्वीकृत भएको पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख ज्ञवालीले सुनाए । ‘राप्ती नदीमा साहसिक जलयात्रा सञ्चालन गर्न कार्यक्रम स्वीकृत भइसकेको छ, स्थानीय जनशक्तीलाई तालिम दिनका लागि प्रशिक्षार्थी छनोट गर्न गाउँपालिकालाई पत्राचार गरिसकेका छौं,’ उनले भने ।
यही चैत तेस्रो साताबाट प्रशिक्षार्थीका लागि एक महिने तालिम सञ्चालन हुने र तालिम पश्चात दक्ष जनशक्तीलाई रबर बोट सहित आवश्यक सामाग्री प्रदान गरिने ज्ञवालीले जानकारी दिए । ‘तालिममा राप्ती नदीमाथी आश्रित समुदायहरु कुमाल, खुना, माझी, बोटे, थारु समुदायलाई सहभागी गराउने छौं,’ उनले भने ।
पर्यटन मन्त्रालयले लुम्बिनी प्रदेशको बाँकेसहित पाँच जिल्लामा साहसिक जलयात्रा कार्यक्रम लागु गरेको छ । कुसुम-अगैया सहित ‘बडडाँडा-भालुबाङ, रुकुमको सानो भेरी, खुंग्री-माडी र पुन्धारा पश्चिम बबईमा साहसिक जलयात्रा कार्यक्रम स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।
भिडियो हेर्नुस् :