नेपालगन्ज : एमाले नेता पशुपति दयाल मिश्र विवादमा मुछिएका छन् । रातोपाटी अनलाईनमा प्रकाशित उनको अन्तरवार्तामा ब्यक्त गरिएको अभिब्यक्तीले विवादमा मुछिएका हुन् ।
केही दिन अघि मात्र नेकपा एमालेका अध्यक्ष र राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भएको थियो । नेता मिश्रले अन्तरवार्तामा एमाले र राप्रपाबीच चुनावी तालमेल भएपनि नेपालगन्ज उपमहमानगरपालिकामा एमालेले मेयर पद नछाड्ने बताएका छन् । नेपालगन्जमा राप्रपाको औकात नै नभएको अभिब्यक्ति दिएपछि एमाले केन्द्रीय सदस्य मिश्र विवादमा मुछिएका हुन् ।
उनको अभिब्यक्ति सार्वजनिक भएपछि राप्रपाका नेता, कार्यकर्ता आक्रोशित भएका छन् । ‘नेपालगन्ज उपमहानगरपालिकामा मेयरलाई जिताईसकेको पार्टीलाई औकात नभएको भन्ने पशुपति दयाल मिश्रले आफ्नो धरातललाई नर्बिसे हुन्छ,’ राप्रपाका एक नेताले भने ‘यो अभिब्यक्तिले सिंगो राप्रपा र राष्ट्रवादी शक्तीलाई चोट पुगेको छ ।’ राप्रपाका सहायक महामन्त्री एवम् युवा नेता ऋषिराज देवकोटाले पनि मिश्रको अभिब्यक्तिलाई संकेत गर्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालगन्ज उपमहानगरपालिका जित्न कसैको बैशाखी आवश्यकता पर्दैन, आफ्नै शक्ति काफी छ ।’
अभिब्यक्ति विवादमा परेपछि मिश्रले आफ्नो बचाउ गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमै उनले समाचारमा उल्लेखित वाक्यांश राप्रपाको कुनै औकात छैन भन्ने सन्दर्भमा उल्लेखित आफ्नो आशय त्यस्तो नभएको जिकिर गरेका छन् । ‘समाचारमा सम्प्रेषित भए जस्तै राप्रपा र पार्टीको नेताप्रति मेरो कुनै दुरासय रहेको छैन र भविष्यमा पनि रहने छैन,’ उनले भनेका छन् ।
मिश्र गत मंसिरमा मात्र एमालेमा प्रवेश गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरको टिकट पाउनुपर्ने शर्तसहित एमालेमा प्रवेश गरेको त्यतिबेला चर्चा चलेको थियो । एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई नेपालगन्जको भवानियापुरस्थित आफ्नै फनपार्कमा बोलाएर प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा एमालेको सुर्य चिन्हबाट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका उनी त्यसअघि तमलोपा, राप्रपा र काङ्ग्रेसमा आवद्ध थिए । अहिले एमालेमा रहेका उनी नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका प्रमुख दावेदार हुन् ।
यस्तो छ, एमाले नेता मिश्रासँग रातोपाटीले लिएको अन्तरवार्ता :
तपाईंले हृदयेश त्रिपाठीसँग कति समय सहकार्य गर्नुभयो ?
सहकार्य त उहाँसँग धेरै पहिलेदेखि हो । ०६४/०६५ मा हामीले तमलोपामा सँगै काम गरेको हो । त्यसयता उहाँसँग निरन्तर सहकार्य भइराखेको हो । उहाँ मन्त्री पनि हुनुभयो । त्यसबेला नेपालगन्जको विकास उहाँको प्राथमिकतैमा थियो । जस्तो एडीबीको प्रोजेक्ट पनि उहाँको टाइममा आयो ।
यो जमुनाहदेखि कोहलपुरसम्मको बाटोको प्रोजेक्ट विवादका कारण फिर्ता हुन लागेको थियो, उहाँले मन्त्रिपरिषद्बाट निर्णय गरेर २१ मिटरको एरिया कायम गराउनुभयो । अहिले यो नेपालगञ्जको सडक जसरी फराकिलो र विकसित देखिइराखेको छ, यो एडीबीको प्रोजेक्ट पनि उहाँकै टाइममा आएको हो । यही प्रोजेक्टले गर्दाखेरि नेपालगञ्जको राम्रो विकास भएको छ । त्यसपछि उहाँ स्वास्थ्यमन्त्री हुँदा पनि राम्रै काम भयो । उहाँसँग हामीले निर्वाचन पनि सँगसँगै लड्यौँ ।
तर, अहिले तपाईं किन त्रिपाठीलाई छाडेर एमालेतिर जानुभएको त ?
अहिले उहाँले राजनीतिक दल नयाँ बनाउने कुरा गर्नुभयो । हामी पहिल्यै सूर्य चिन्हबाट उम्मेदवार भइसकेको हुनाले हामी एमालेतिर गयौँ । राष्ट्रिय स्तरको पार्टी भयो भने भोलि नेशनल लेभलको सरकार हुँदा काम गर्न सजिलो हुन्छ । काम त हामीले यहाँको विकासका लागि गर्ने हो ।
त्यसकारण यही सोचेर हामी मङ्सिर १ गते यही प्लानेटमा केपी ओलीको आतिथ्यमा ४६ सय जना एमालेमा प्रवेश गरेका हौँ । र, म एमालेको महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्य पनि छु । अहिले बाँकेमा एमालेको संगठन विस्तार र गढ नै भइराखेको छ । अहिले निरन्तर सय–पचास जना एक–दुई दिनमा एमालेमा प्रवेश भइराखेका छन । अहिले एमालेमा आकर्षण एकदम राम्रो बढेको छ ।
तपाईं एमालेमा प्रवेश गर्दा हृदयेश त्रिपाठीले चित्त दुखाउनुभएन ?
उहाँले अर्को पार्टी खोल्नु भएको छ । यहाँ त उहाँको खासै संगठन छैन, नवलपरासीतिर अलिअलि होला । पूर्वतिर पनि उहाँको के छ, मलाई त्यति थाहा छैन । तर, यसमा चित्त दुखाइको कुरा भएन, उहाँसित सरसल्लाह नै गरेर जहाँ जाँदा सुरक्षित भइन्छ र विकास गर्न सकिन्छ, त्यहीँ गएर काम गर्ने भन्ने भयो ।
०७४ मा तपाईंले जस्तै सूर्य चिन्हबाटै चुनाव लड्नुभएका त्रिपाठी पनि एमालेमै प्रवेश गर्नुहुन्छ कि ?
एमालेमा आउनुहुन्छ होला जस्तो लाग्दैन । मलाई लाग्छ, एमालेसँग सहकार्य हुन सक्छ । मलाई के लाग्छ भने एमालेसित सहकार्य गरेर उहाँ निर्वाचनमा जानुहुन्छ । उहाँ अहिले पनि एमालेसितै नजिक हो । सूर्यचिन्हबाट लडेको हुनाले उहाँ एमालेकै सांसद हुनुहुन्छ । एमालेले उहाँलाई कारबाही पनि गरेको छैन ।
तपाईं अब नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरको दाबेदार हो ?
पार्टीले जे जिम्मेवारी दिन्छ, हामीले त्यो ढंगले काम गर्ने हो । नेपालगञ्जलाई गौरब गर्न लायक बनाउने हाम्रो दृष्टिकोण हो । यो धेरै पुरानो शहर हो । तर, पुरानो भएर पनि जति अवसर पाउनुपर्ने हो, त्यो अवसर नेपालगन्जले पाउन सकेन । जुन हिसाबले विकास हुनुपर्ने हो, नेपालगञ्जमा अहिले पनि त्यो हुन सकेको छैन ।
विभिन्न सेक्टरमा काम गर्न बाँकी छ । यहाँ त्यस्तो नेतृत्व आउनुपर्छ, जसले नेपालगन्जको विकास गर्न सकोस् । किनकि यो भौगोलिक रुपले अत्यन्त महत्वपूर्ण ठाउँ हो । यो २४ जिल्लाको सेन्टरमा पर्छ । यो भारतको पनि गेट वे हो । त्यसकारण नेपालगन्जको सम्भावना धेरै छ । यहाँ निजी क्षेत्रको विकास त भइराखेको छ, तर सरकारी लगानीको हिसाबले धेरै पछाडि परिराखेको छ । यसलाई व्यवस्थित गरेर कसरी लग्ने भन्ने हाम्रो सोच हो । अब पार्टीले जिम्मेवारी दियो भने मैले नेतृत्व गर्ने कुरा छ ।
०७४ सालको चुनावमा नेपालगञ्जको मेयरमा राप्रपाका धवलसमशेर जबराले १२ हजार ५१५ मत ल्याएर जित्नुभएको थियो । दोस्रोमा काँग्रेसले ८ हजार ७३० भोट ल्याएको थियो । तेस्रोमा माओवादीका दामोदर आचार्यले ७ हजार १९८ मत ल्याउनुभएको थियो, जो दुईहप्ता अघि क्यान्सरले बित्नुभयो । एमालेका समसुद्दिन सिद्दिकीले चौथो स्थानमा ६ हजार ९६५ भोट मात्र पाउनुभएको थियो । यो डाटा हेर्दाखेरि चौथो स्थानमा भएको एमालेले मेयर जित्ला र ?
तपाईं यसको क्यालकुलेसन हेर्नुहुन्छ भने एमालेले जनसंख्या बढी भएका ६ वटा वडा जितेको छ । राप्रपाले तीनवटा वडा जितेको छ । माओवादीले चारवटा र काँग्रेसले आठवटा वडा जितेको छ । आठ वटा वडा जित्ने पार्टी मेयरमा हारेको छ, तीनवटा वडा जित्ने पार्टीले मेयरमा जितेको छ ।
भनेपछि यो स्थानीय चुनावमा यहाँ व्यक्तिलाई हेरेर भोट दिने प्रचलन छ । व्यक्ति हेरेर धवलसमशेरले मेयरमा जितेको हो, संगठन त राप्रपाको अहिले पनि कमजोर छ । संगठन उहाँको छैन । संगठन हेर्दा त एमाले वा काँग्रेसले जित्नुपर्ने हो । देशमा गणतन्त्र आइसक्यो, राजतन्त्र गइसक्यो, त्यसको पहिलो निर्वाचन हुँदा राप्रपाले जित्छ भनेपछि यहाँ व्यक्तिको प्रभावले धेरै असर पर्छ । विगतको निर्वाचनमा हामी यो देखिराखेका छौँ ।
काँग्रेसका उम्मेदवार त्यत्रो ठूलो डाक्टर सुरेश कनौडिया हार्नुभो । उहाँकै उपमेयर उमा थापाले जित्नुभो । भनेपछि यहाँ पार्टीको प्रभाव भन्दा पनि कत्तिको प्रभावशाली व्यक्ति छ, त्यसमा भर पर्छ । व्यक्तित्व कस्तो छ, जनताले उसलाई कुन हिसाबले हेरिराखेको छ भन्ने कुरा मुख्य हुन्छ । ०७४ सालमा यति भोट पायो, उति भोट पायो भन्ने विश्लेषणले हुँदैन । पहिलेको एमाले र अहिलेको एमाले फरक छ ।
पहिले उत्तरतिर मात्रै एमाले थियो । जहाँ पहाडी बेल्ट छ, त्यहाँ एमाले थियो । अहिले त हामी मङ्सिर १ गते लगभग ४६ सयजना प्रवेश भयौँ । अहिले प्रत्येक वडामा एमाले मजबुत भइसक्यो । अहिले र पहिलेको परिस्थिति धेरै परिवर्तन भइसकेको छ । जुन वडामा एमालेको २०/२५ भोट थिएन, त्यहाँ हामी जित्ने परिस्थितिमा छौँ । मतदाताको संख्या पनि अहिले बढेर ८२ हजार भइसक्यो । पहिले भन्दा २०/२२ हजार भोट थपिएको छ ।
तर, नेपालगन्जमा काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच गठबन्धन भयो भने एमालेको स्थिति के होला ?
नेपालगन्जमा गठबन्धनको अनुभव बहुत तीतो छ । यो पनि म तपाईंलाई सुनाइदिन्छु । जस्तो– योभन्दा पहिले संसद्को चुनावमा राप्रपा र काँग्रेसको गठबन्धन थियो । प्रदेश र संघ दुईटैमा उनीहरूको गठबन्धन थियो । अनि एमालेको माओवादीसित गठबन्धन थियो ।
यी दुईवटै गठबन्धनहरू प्रतिस्पर्धामा आउनुपर्ने, तर स्थानीय निर्वाचनमा ५ हजार भोट पाएको, कुनै गठबन्धनमा नरहेको संसदीय समाजवादी फोरमका इस्तियाक राईले हामीभन्दा पाँच हजार बढी भोटले जिते । सबभन्दा ठूला भनेका राप्रपा र काँग्रेस १३ हजारमा सीमित भए । हामी एमाले र माओवादी १६ हजारमा सीमित भयौँ । भनेपछि, गठबन्धनले यहाँ रिजल्ट राम्रो दिँदैन । गठबन्धन जसको भयो, सम्झनोस् कि त्यसको हार्ने दिन पक्का हुन्छ ।
नेपालगन्जमा गठबन्धनले जित्दै जित्दैन । किनभने यहाँ अर्को पार्टीलाई भोट दिन चाहँदैनन् । र, तरल भोट जुन छ, त्यो बिकिहाल्छ । तर, भोट किन्यो, लियो, जित्यो । त्यसैले गठबन्धन भएर धेरै फरक पर्छ भन्ने लाग्दैन । गठबन्धन हुनेवित्तिकै झन् कमजोर भइहाल्छ ।
नेकपा एमाले र राप्रपाका बीचमा गठबन्धन होला कि नहोला ?
अरुले गठबन्धन गरे भने त यो हुन पनि सक्छ । मान्छेहरूले उम्मेदवारलाई कति रुचाइराखेका छन, यो कुराले पनि असर गर्छ । यो कुरा उम्मेदवारमाथि निर्भर गर्छ ।
तपाईंले भन्नुभयो कि नेपालगन्जका मतदाताले व्यक्ति हेर्छन, तर गठबन्धन हेर्दैनन् । हाम्रो प्रश्नचाहीँ के हो भने सत्तापक्षीय दलहरूको गठबन्धन बन्यो भने राप्रपा र एमालेको गठबन्धन हुन्छ कि हुँदैन ?
राप्रपा व्यक्तिवादी छ । राप्रपाको गठबन्धन भयो भने त्यो व्यक्तिवादी गठबन्धन हो । व्यक्तिवादी गठबन्धनले काम गर्न सक्छ । किनभने राम्रो व्यक्ति खोजेका कारण धवल समेशरलाई भोट गयो । हामी त गठबन्धनको पक्षमा खासै छैनौँ, एक्लै लड्छौँ भन्ने पक्षमा छौँ । तर, ओलीजीले माथि गठबन्धन गर्दिनुभो भने यहाँ अरुको गठबन्धन भन्दा हाम्रो गठबन्धन अलि बलियो हुन्छ । त्यसकारण अरु दलले गठबन्धन गरे र राप्रपा, लोसपा लगायतले एमालेसँग गठबन्धन गरे भने हामीलाई बढी भोट आउन सक्छ । तर, उहाँहरूलाई गठबन्धन गरेर फाइदा होलाजस्तो लाग्दैन ।
एकचोटि कल्पना गरौँ– राप्रपा, लोसपा र एमालेबीच गठबन्धन हुने नै भयो भने यो स्थानीय तहका लागि मात्रै गर्नु उपयुक्त हुन्छ या आगामी प्रदेशसभा र संघको चुनावसम्म ? प्रदेश र संघमा कसरी टिकट बाँड्ने भन्ने एकैचोटि मिलाउनुपर्छ होला हैन ?
त्यो हुँदैन । अहिले गठबन्धन भयो भने स्थानीय चुनावका लागि मात्रै हुन्छ । दोस्रो चरणको फेरि पछि हुन्छ । त्यो टाइममा को उम्मेदवार होला, अहिले टुंगो हुँदैन । स्थानीय तहमा गठबन्धन भयो भने सीमित ठाउँमा हुन्छ । यो उपमहानगरपालिका त्यसमा नपर्न पनि सक्छ ।
केन्द्रले निर्णय गरेर राप्रपालाई उपमेयर दिन्छ, दिँदैन त्यो म भन्न सक्दिनँ । समस्या त के छ भने हाम्रा सबै उम्मेदवार तयार भइसकेका छन । वडामा तयार छन । त्यसैले छोड्दाखेरि हामीलाई गाह्रो पनि छ । महानगरसम्म ठूला दलहरूको गठबन्धन माथिबाटै होला । सरकार बचाउनका लागि केही त देखाउनै पर्यो ।
महानगरबाट निस्कियो भने केही नगरपालिकाहरूमा गठबन्धन होला । त्यो पनि काँग्रेसले चाहिराखेको छैन । माओवादी, जसपा र एकीकृत समाजवादीको मात्रै प्रेसर हो । किनभने, उहाँहरू धेरै कमजोर पोजिसनमा हुनुहुन्छ । आफ्नो कमजोरी ढाकछोप गर्न र हामी एक छौँ भन्ने देखाउनका लागि मात्रै हो ।
नेपालगन्जमा राप्रपालाई मेयर दिएर एमालेले उपमेयर लिनेगरी गठबन्धन हुन सक्छ ?
केन्द्रले मिलाउँछ भने त मैले केही भन्न सक्दिनँ । तर, यहाँ राप्रपाको औकातै छैन । एमालेले कुनै हालतमा मेयर त छोड्दै छोड्दैन । कुन हिसाबले धवल समशेरलाई दिने ? धवल शमशेर त मेयरमा लड्दै लड्दैनन । उनले त म मेयरको निर्वाचन लड्दिनँ, केन्द्रमा लड्छु भनेर घोषणै गरिसके । उहाँबाहेक राप्रपाको मान्छे नै छैन ।
उसलाई उम्मेदवारै खोज्न पनि गाह्रो छ । केन्द्रले निर्णय गरेर राप्रपालाई उपमेयर दिन्छ, दिँदैन त्यो म भन्न सक्दिनँ । समस्या त के छ भने हाम्रा सबै उम्मेदवार तयार भइसकेका छन । वडामा तयार छन । त्यसैले छोड्दाखेरि हामीलाई गाह्रो पनि छ । कुनै वडा छाडिदियो भने हाम्रो मान्छेले मान्नुपर्यो नि । संगठनले जित्ने तयारी गरेको वडा राप्रपालाई छाडिदियो भने त फेरि निराशा छाइहाल्छ । त्यसकारण राम्रो के हुन्छ भने सबै पार्टीले आफ्नो–आफ्नो ठाउँमा लडौँ । गठबन्धनबाट जितेर त मेयर चलाउन पनि गाह्रो ।
तपाईंले भन्नुभयो कि नेपालगन्जको दक्षिणतर्फ एमालेको संगठन बढेको छ । एमालेमा खास गरी कुन पार्टीका मान्छेहरू प्रवेश गरेका छन ?
सबै पार्टीका आएका छन । खास गरेर मुस्लिम र मधेसी समुदाय एमालेमा आएका छन् । एमालेमा पहाडे बाहेक मुस्लिम र मधेसी समुदायको न्यून संख्या थियो ।
विगतमा केपी ओलीको छवि ‘मधेस विरोधी’का रुपमा थियो । अहिले त्यसमा कसरी परिवर्तन आयो ?
उहाँले तीन वर्षमा जुन काम गर्नुभयो, त्यसले उहाँलाई स्थापित गर्यो । अर्को के छ भने नागरिकता विधेयक उहाँकै टाइममा आयो । अन्य कुराहरू पनि उहाँले गर्दिनु भो । यिनै कारणले परिस्थितिमा फेरबदल भयो । मधेसी दलहरूमा आएको टुटफुट, जातीय राजनीतिले पनि यस्तो परिस्थिति आयो ।
उनीहरूले यादववाद, मुस्लिमवाद आदि हिसाबले जातीय हिसाबले मात्रै राजनीति गर्न लागे । र, दुई नम्बर प्रदेशमा मात्रै सीमित गरे । यस्तो तरल परिस्थितिमा यहाँका जनता कता जाने, कता जाने भैरहेको थियो । नीति कार्यक्रम हेर्दाखेरि बरु ओलीजी नै ठीक भन्ने भयो । पहिले त ओलीजीको त पूरै विरोध हो नि यहाँ ।
मधेसमा सबैभन्दा विरोधी त ओलीजीलाई बनाएको थियो । तर, परिस्थिति चेञ्ज भइगयो । कहिलेकाहिँ कसैसित धेरै दुश्मनी भइगयो भने त्यो सितको दोस्ती एकदमै प्रगाढ हुन्छ । अहिले त्यही भयो । यहाँ ओलीका एकदम कट्टर विरोधी थिए, अहिले कट्टर समर्थक भए । पहिले पनि बाँकेमा एमालेले ५० प्रतिशत त जितेको हो नि ।
एमालेले चार वटा पालिका जित्यो, बाँकी चार वटामा अरु दलले जितेका हुन् । एमालेले त एक्लै चारवटा जितेको हो । अहिले आठवटै पालिका जित्ने परिस्थिति बनेको छ । हारेका पालिकाहरूबाट हजारौँ संख्यामा पार्टीमा प्रवेश गरिरहेका छन । पालिका जित्यौँ भने त हामीले संघ र प्रदेशको चुनाव मज्जाले जित्न सक्छौँ । पार्टी भएपछि त मेयरको दाबेदारी जसले पनि गर्न पायो । काँग्रेस वा माओवादीसँग गठबन्धन भयो भने उहाँले टिकट नपाउने सम्भावना हुन्छ । काँग्रेसले आफूलाई लिन्छ कि कमरुदिनलाई छोड्दिन्छ ?
तपाईं यसो भन्दै हुनुहुन्छ तर एमाले पार्टी फुटेको अवस्था छ । यहीँ नेपालगञ्जको मेयरका ०७४ सालका एमाले उम्मेदवार समसुद्दिन सिद्दिकी समेत माधव नेपालको पार्टीमा जानुभएको छ । यो चुनावमा फुटको असर पर्दैन ?
केही पनि असर पर्दैन । उहाँको राम्रो भएको भए त त्यो टाइममा धवल समशेरले जित्नुभयो । धवल समशेरले जितेको पनि त्यही एमालेकै भोटले हो । सिद्दिकीसँग असन्तुष्ट भएर मान्छेले राप्रपालाई भोट दिएका हुन् । उहाँ राम्रो उम्मेद्वार भएको भए त त्यही टाइममा जितिहाल्नुहुन्थ्यो ।
अहिले पनि माधव नेपालको पार्टीबाट उहाँकै उम्मेदवारीको कुरा भइराखेको छ । मलाई लाग्छ केही सीमित व्यक्तिहरू मात्रै एमाले छाडेर गएका छन् । कुनै वडामा संगठन छैन, केही छैन अनि कसरी असर पर्छ ? उहाँतिर गएको भन्दा त धेरै आइसके एमालेमा ।
स्थानीय तहमा एमाले बलियो हुँदाहुँदै पनि ०७४ को संघीय चुनावमा जसपाका इस्तियाक राईले जादु नै चलाएर जित्नुभएछ । अहिले जसपाबाट इस्तियाककै नातेदार कमरुदिन राई मेयरमा उठ्दै हुनुहुन्छ भन्ने सुनियो । उहाँले पनि जादु चलाइदिनुहुन्छ कि ?
पार्टी भएपछि त मेयरको दाबेदारी जसले पनि गर्न पायो । काँग्रेस वा माओवादीसँग गठबन्धन भयो भने उहाँले टिकट नपाउने सम्भावना हुन्छ । काँग्रेसले आफूलाई लिन्छ कि कमरुदिनलाई छोड्दिन्छ ? संघमा जितेको जसपाले मेयर कमरुद्दिनलाई दिनुपर्छ भनेर दाबा गर्नुपर्ने हो । कमरुद्दिनको ताकत छ भने मेयरको टिकट लिएर देखाउन । झन् राम्रो भइहाल्छ । त्यसपछि त जादु चलिगो नि उहाँको जादु चल्छ कि हाम्रो जादु चल्छ, हेर्दै जानुहोला ।
तपाईं पनि त एमालेमा अस्ति मंसिर १ गते भर्खरै प्रवेश गर्नुभएको हो । पुराना एमाले नेताहरूले नवप्रवेशीलाई टिकट दिएकोमा रिसाएर भोट नदिने खतरा पनि त होला नि ?
त्यस्तो सम्भावना छैन । पार्टी एक ढिक्का छ । मलाई सबैले स्वागत गरेका छन । पहिले त हामी हृदयेश त्रिपाठीजीसँग हुँदा एमालेसँग गठबन्धनको हिसाबले स्वतन्त्र रुपमा लडेका हौँ । स्वतन्त्र हुँदाखेरि त्यसको असर अलिकता थियो । अहिले हामी पार्टी प्रवेश गरिसकेपछि र केन्द्रीय कमिटीको सदस्य भइसकेपछि माहौल अर्कै छ ।
जसरी भए पनि बाँके जिल्लालाई एमालेको किल्ला बनाउनुपर्छ भनेर वडा वडामा, टोल टोलमा साथीहरू सक्रिय छन । र, जसले टिकट पाउँछ, त्यसका पछाडि इमान्दारीपूर्वक लाग्नुपर्छ भन्ने दृष्टिकोण बनेको हुनाले समस्या आउँछ जस्तो लाग्दैन । जो उम्मेदवार भए पनि हामी एक ढिक्का भएर लाग्छौँ ।
-रातोपाटीबाट साभार