नेपालगन्ज : नेपालगन्ज उपमहानगर हाँक्ने मेयर र उपमेयरको टिकट लिन नेपाली कांग्रेसभित्र दौडधुप चलेको छ । कांग्रेसका १४ जनाले मेयर र ११ जनाले उपमेयरको उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ ।
टिकट आफ्नो पक्षमा ल्याउन कांग्रेसका नेता तथा नेतृहरुबीच दौडधुप चलेको हो । उनीहरुले जिल्ला, प्रदेश र केन्द्र सम्मका नेतालाई भेट्ने गरेका छन् । नेपालगन्ज कांग्रेसका लागि महत्वपूर्ण उपमहानगरपालिका हो । कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको गृहनगर पनि हो, नेपालगन्ज ।
त्यसकारण नेपालगन्जलाई कांग्रेसले महत्वका साथ हेर्ने गरेको छ । उपमहानगरको टिकटका लागि नेता तथा नेतृहरुबीच दौडधुप चलेपनि अहिलेसम्म टुंगो भने लागेको छैन । पाँच दलिय गठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा जिल्लामा अहिलेसम्म टुंगो लागेको छैन ।
नेपालगन्जको मेयर र उपमेयर पद गठबन्धन भित्रको कुन दलले पाउँछ भन्नेबारे टुंगो नलागेपनि कांग्रेसका नेता तथा नेतृहरु कांग्रेसले नै पाउने आशाका साथ टिकटका लागि दौडधुप थालेका हुन् । कांग्रेस नेपालगन्ज उपमहानगर कार्यसमितिले गत चैत २७ गते मेयर पदका लागि १४ जना र उपमेयर पदका आकांक्षी ११ जनाको नाम सिफारिस गरेर पठाएको थियो ।
उपमहानगरको मेयर पदमा रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापामगर सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुन अजितकुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, बिरेन्द्रबहादुर शाह, अच्युतप्रसाद प्रसाई, ललितकुमार रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ ।
यस्तै उपमेयरका लागि रेणुसिंह ठाकुर, दिक्षा कोइराला, रत्न राणा, शिवकुमार बर्मा, पूर्णसिंह ठकुरी, मिनाकुमारी बोहरा, नारायणी रुपाखेती, मो. कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुलकुमार गुप्ता नगर समितिबाट सिफारिसमा परेका छन् ।
मेयर र उपमेयर पदका लागि धेरै आकांक्षी देखिदाँ उम्मेदवार छान्न कांग्रेसलाई सकस परिरहेको स्रोतले जनाएको छ । ‘नेपालगन्जको मेयर र उपमेयर पदको टिकटका लागि धेरै जना आकांक्षी हुनुहुन्छ, तर कस्लाई टिकट दिने भन्नेमा पार्टीले कुनै निर्णय गरेको छैन,’ एक नेताले भने । नगर समितिले सिफारिस गरेका आकांक्षीको नामलाई क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २, जिल्ला कार्यसमिति बाँके, कांग्रेस लुम्बिनी प्रदेश र पार्टी केन्द्रीय कार्यसमितिलाई बोधार्थका रुपमा जानकारी गराइसकेको छ ।