नेपालगन्ज : राजनीतिक स्थायित्व र देशमा पाँच बर्ष सम्म एउटै सरकारले देश अनि जनतालाई समग्रमा समृद्ध बनाउने सफल योजना लागु गर्नका निम्ति दलहरूमा उच्च स्तरीय सहकार्य हुनु यतिबेला सबैको बाध्यता हो ।
परिवर्तनको अनुभुती हरेक जनताले पाउन नसकी रहेकोे वर्तमान अवस्थामा सत्ताकै लागि बिचारको घाँटी रेटेर चुनावी गठबन्धन गर्नुपर्ने स्थितीको कारक तत्वको खोजी नगरी पदका निम्ति या अरु कुनै कारणको आवेगमा आएर गठबन्धन गर्दा काँग्रेस जस्तो खुल्ला लोकतान्त्रिक विचारबाट निर्देशित दलका कार्यकर्ताहरुको आक्रोशको ज्वालामुखीले पार्टीलाई दिर्घकालिन क्षति पुर्याउने अवस्थाको हेक्का भने बेलैमा नेतृत्वले राख्नै पर्दछ ।
नेपालमा जबसम्म यो संबिधान अनुसारको निर्वाचन प्रणाली हुबहु रहन्छ, तबसम्म कुनैपनि दलको बहुमतको सरकार बन्ने सम्भावना कमै छ । सबै दलहरू मिलेर सँग सँगै देश चलाउ भन्ने सन्देश संबिधानले दिएको हो । तर, दलका नेतृत्वहरु एकले अर्कालाई खुइल्याउन जस्तोसुकै हद पार गर्न पछि नपर्ने समकालिन राजनीतिक चरित्रका कारण नेपाल राजनीतिक अस्थिरताको भुमरीमा पर्दै यहाँसम्म आइपुगेको यथार्थतालाई जतिसुकै लुकाउन खोजेपनि लुक्ने वाला छैन ।
अहिले यही बैशाख ३० को स्थानीय सरकारको लागि हुने निर्वाचनको चुनावी गर्मा गर्मीको बहस सर्बत्र छाएको छ । त्यसमा पनि सत्ता गठबन्धन दलहरुको चुनावी तालमेलले अलि बढी चर्चा पाएको छ । यो तालमेलको बहसले काँग्रेसले थालेको ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियानलाई पुर्णतः प्रभावित बनायो ।
काँग्रेसको स्थानीय तहमा यो अभियानले संगठन लाई युगानुसार चलायमान बनाउन महत्त्वपूर्ण उर्जा दिदै गर्दा गठबन्धनरुपी मिसायलले उच्च मनोबलका साथ मैदानमा उत्रिएका स्थानीय नेता तथा कार्यकर्ता सम्मलाई युद्ध हारेको सैनिक सरह निराशाको कालो बादलमा मडारी दियो ।
स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न सक्ने अधिकार नेपाली काँग्रेसको केन्द्रिय समितिको चैत्र १६ गतेको निर्णयले गर्यो, जसले निष्ठा अनि बिचारको राजनीतिलाई शिरमा राख्ने आम कांग्रेसीजन लाई अलिकति आशाको दियो बाल्ने काम गर्यो, तर आज भोलीका घटनाक्रम त्यो निर्णय विपरित केन्द्रले फेरि स्थानीय तहमा गठबन्धनको संयन्त्र बनाएर नेतृत्वको इच्छा अनुसार जबरजस्त अंश बण्डा गरि पद बाँडफाँड गर्ने चरणहरु पार गरिदैछ । स्थानीय नेता तथा कार्यकर्ताको इच्छा विपरित गरिने अंश बण्डाले निम्त्याउने क्षतिको जिम्मा कस्ले लिने ?
पद अनि सत्ताका निम्ति पार्टीलाई मृत्यु शैयामा पुर्याएर कार्यकर्ताको इहलिला हुने यस्तो जबरजस्त गराइने गठबन्धनले कतै लोकतान्त्रिक आन्दोलनको मियो दल नेपाली कांग्रेस भारतीय काँग्रेस आई को हालतमा त पुग्ने होईन ? बेलैमा आम कांग्रेसजन सचेत र सजग हुन जरुरी छ ।
आवश्यकता र औचित्यका आधारमा स्थानीयले नै तालमेल गर्ने या नगर्ने निर्णयको अधिकार स्वयंले गर्न पाउने कुरा सबैभन्दा मुख्य हुनु पर्दछ । बाह्य एकतालाई प्राथमिकतामा राख्दै गर्दा आन्तरिक एकता तहस नहस हुनु भनेको मृत्यु पत्रमा हस्ताक्षर गर्नु सरह नै हो भन्ने कुरा काँग्रेस नेतृत्वले बेलैमा बुझ्न अति आवश्यक छ ।
बरदानको आस गरेर जबरजस्त गरिने गठबन्धन अभिसाप नबन्नोस् । औंला दिन खोज्दा हात मात्रै होईन दीर्घकालमा सिंगो शरिर नै नरहने अरुलाई बलियो बनाउने गठबन्धन होईन आफु बलियो बन्ने गठबन्धन गर्ने हो भने जबरजस्ती गरेर होईन आवश्यकता अनि औचित्यका आधारमा तालमेल गर्ने जिम्मा स्थानीयलाई नै दिनु उपयुक्त होला ।
एकातिर गठबन्धनको प्रेसर अर्कातिर अत्याधिक संख्यामा उम्मेदवारको दाबीले काँग्रेस बृहतमा ब्यापक चासो अनि चिन्ता देखिएको छ । लोकतान्त्रिक पार्टीभित्र धेरै भन्दा धेरै उम्मेदवार हुनुपर्छ यो कुनै नौलो कुरा होईन, लोकतान्त्रिक दलको गहना भनेकै यहीँ हो ।
जति धेरै आकांक्षी त्यति धेरै पार्टी बलियो बन्दछ, तर पार्टीले टिकट एकजना लाई दियो भने सबैले हातमा हात मिलाएर मुख होईन रुखलाई सम्झिएर निर्वाचन जित्ने अभियानमा सँग सँगै यात्रा गर्न भने जरुरी छ । यदी चुनावी अभियानमा कुनैपनि नेता तथा कार्यकर्ता दिल दिमागले सकेजति पार्टीलाई जिताउन लाग्दैन भने पार्टीले ती मनुवाहरुको लेखाजोखा राख्नै पर्दछ । घर ध्वस्त पारेर छिमेकीलाई बलियो बनाउनेहरुबाट घर जोगाउनका निम्ति कुनै आग्रह पुर्वाग्रह नलिएर निर्भिकता अनि निडरताका साथ दण्ड दिन नेतृत्वलाई दवाव दिन आवश्यक छ । जय नेपाल ! (लेखक नेपाली कांग्रेस बाँकेका महासमिति सदस्य हुन् )