नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका आगलागी पीडितलाई राहत प्रदान गरिएको छ । शुक्रबार दिउँसो ३ बजेतिर सुरु भएको आगलागीबाट ११ घर र ४ वटा गोठ जलेका थिए ।
आगलागी पीडितलाई राप्ती सोनारी गाउँपालिकाले प्रति परिवार एक बोरा चामल, ५ किलो दाल, दुई थान ब्ल्यांकेट, तेल, नुन, लत्ता कपडा, खाना पकाउने भाडाकुडी लगायत सामाग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री शुक्रबार बेलुका नै घटनास्थलमा पुगेर राहत सामाग्री वितरण गरेका हुन् ।
सो क्रममा गाउँपालिका अध्यक्ष थारुले आगलागी पीडितको घर बनाउन आवश्यक पर्ने जस्ता पाता खरिद गर्न प्रतिपरिवार ५० हजार र सिमेन्ट खरिद गर्न १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । ‘आगलागीको घटनाबाट हामी अत्यन्त दुःखी भएका छौं, तपाईहरुको दुःखमा हाम्रो साथ छ,’ उनले भने ‘तपाईहरुको घर बनाउनका लागि गाउँपालिकाले थप सहयोग गर्नेछ ।’
यस्तै उपाध्यक्ष खत्रीले गर्मीयामको सुरुवातसँगै आगलागीको जोखिम बढेको अवस्थामा यस घटनाले दुखित बनाएको बताइन् । दुःखमा साथ दिनका लागि आफुहरु आएको उनको भनाई थियो ।
स्थानीय ब्यवसायी सिताराम जैसीको घरबाट सुरु भएको आगो नैनसिंह खत्री, हरिप्रसाद जैसी, अहिमान कुुसारी, भिमबहादुर खत्री, कर्णबहादुर खत्री, प्रेमबहादुर ओली, निमेश बिक, तप्तबहादुर खत्री, देवकर्ण खत्री र केशवबहादुर खत्रीको घरसम्म फैलिएको थियो । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
हावा चलेका कारण पश्चिममा रहेको हरिप्रसाद जैसी र पुर्वमा रहेको केशवबहादुर खत्रीको घरसम्म आगो फैलिएको स्थानीय बासिन्दा बहादुर केसीले बताए । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलको सहायताले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रको प्रयास गरेपनि पूर्ण रुपले अझैपनि नियन्त्रणमा आउन नसकेको केसीले जानकारी दिए ।