नेपालगन्ज : पार्टीका महामन्त्री डा. धवलसम्शेर राणा यसपटक चुनाव नलड्ने भएपछि नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न राप्रपाभित्र रस्साकस्सी चलेको छ । मेयर पदको उम्मेदवार बन्न अहिलेसम्म चार जना नेताले आकांक्षा देखाएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदसहित वडा नम्बर ४, ५ र ८ मा वडाअध्यक्ष जितेको थियो । वडा नम्बर ५ का वडाअध्यक्ष कैफुल जोलाहा र वडा नम्बर ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ता ‘बैश्य’ हालै कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरिसकेका छन् । वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहना भने राप्रपामै छन् । महामन्त्री राणाले आफु नेपालगन्जको मेयरमा अब नलड्ने घोषणा नै गरेपछि राप्रपाभित्र टिकटका लागि रस्साकस्सी चलेको हो ।
नेपालगन्जको मेयर पदका लागि ओमप्रकाश आजाद, गौरव चन्द, मोहम्मद सफिक बेहेना र तेजविक्रम शाह आकांक्षी देखिएका छन् । नेता आजाद २०७४ सालमा प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट 'कांग्रेस/राप्रपा गठबन्धन' बाट सांसदको चुनाव लडेपनि पराजित भएका थिए । यस्तै चन्द राप्रपाका प्रभावशाली नेता हुन् ।
बेहना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को वर्तमान वडाअध्यक्ष हुन्, भने शाह राप्रपाभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । यसैगरी उपमेयरमा राप्रपा नेतृ बिन्दु चर्तीमगर, कृष्णा पाण्डे र पिंकी शाह (बेहेना) आकांक्षी छन् । महामन्त्री राणा आउँदो प्रतिनिधी सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
निर्वाचनमा यसपटक राप्रपालाई आफ्नो विरासत जोगाउने चुनौती छ । अघिल्लो निर्वाचनमा राणाले पार्टी बाहेक अन्य मतदाताबाट पनि लोकप्रिय मत प्राप्त गरेका थिए । राणाले प्राप्त गरेको लोकप्रियतालाई जनतामाझ पुर्याएर आफ्नै पार्टीका उम्मेदवारलाई फेरीपनि जिताउने राप्रपाको दाउ छ । चुनावमा कसैसँग तालमेल नगरी एक्लै चुनाव लडेर जित्नुपर्ने राप्रपाभित्र बहस चलिरहेको छ ।
राप्रपाका महामन्त्री डा. राणाले पार्टीभित्र मेयर र उपमेयर लड्ने आकांक्षी धेरै रहेको बताए । ‘आकांक्षी धेरै जना छन्, तर कसैको पनि टुंगो लागेको छैन,’ उनले भने । राप्रपाले अन्य पार्टीसँग तालमेल गर्ने सम्भावना के छ ? भन्ने प्रश्नमा राणाले त्यसबारेमा पनि छलफल चलिरहेको बताए । तर, कुन पार्टीसँग छलफल चलेको छ ? भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन् ।
यस्तै वडा नम्बर ४ का वडाअध्यक्ष समेत रहेका मेयर पदका आकांक्षी बेहनाले पार्टीभित्र आकांक्षी बढ्नु स्वभाविक भएपनि पार्टीले जस्लाई टिकट दिन्छ, उसैलाई जिताउन राप्रपाका सबै कार्यकर्ता लाग्ने बताए । ‘मैले वडाअध्यक्ष भएर जनताको सेवा गर्ने महत्वपूर्ण अवसर पाएँ, त्यो अनुभवलाई अब मैले समग्र उपमहानगरको विकासमा प्रयोग गर्नेछु, राप्रपा पार्टी र आम नेपालगन्जबासीबाट यही अपेक्षा गरेको छु,’ बेहनाले भने ।