नेपालगन्ज : नेपालगन्जमा स्थापना गरिएको मंगलप्रसाद महिला कलेज उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले उक्त कलेज स्थापना गरेको थियो । कलेजको कार्यक्रमका प्रमुख अतिथी एवम् पुर्वाञ्जल विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा. यादवराज कोइरालाले बुधबार बिहान औपचारिक रुपमा उद्घाटन गरे ।
कलेज स्थापनाले महिलाको शिक्षामा पहुँच बढ्ने सम्बद्ध सरोकारवालाको विश्वास छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले शिक्षामा महिलाको पहुँच बढाउन महिला कलेज स्थापना गर्नु परेको बताए । महिला कलेज आर्थिक रुपले सक्षम नहुँदासम्म उपमहानगरपालिकाले नै खर्च ब्यहोर्ने निर्णय भएको उनले सुनाए ।
यस्तै उपप्रमुख उमा थापामगरले मधेसी, मुस्लिम लगायत समुदायका छोरीलाई लक्षित गरेर महिला कलेज स्थापना भएपनि सबै जाती र समुदायका छोरीले पढ्न पाउने बताइन् । कलेजलाई आर्थिक रुपले सक्षम बनाउँदासम्म सञ्चालनमा चुनौती आउने उनको भनाई छ ।
मंगलप्रसाद महिला कलेज सञ्चालक समितिका कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमलाई प्रदेश सांसद आईपी खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जुम्मन खाँ, कलेजका प्रमुख रविन्द्र कर्ण, कलेज सञ्चालक समितिका सदस्य मोहम्मद खालिद ईराकी लगायतले बोलेका थिए ।
कलेज प्रमुख कर्णले दिएको जानकारी अनुसार मंगलप्रसाद माध्यामिक बिद्यालयले उपलब्ध गराएको करिव १२ कठ्ठा जमिनमा चारतले भवन निर्माण गरिएको छ । उक्त भवनमा ४० वटा कक्षा कोठा, कार्यालय, हल, अपांगतामैत्री शौचालय लगायत संरचना निर्माण गरिएको छ । कलेजमा अध्ययन गर्ने छात्राका लागि छात्राबासको पनि ब्यवस्था गरिएको उनले बताए । उक्त कलेजलाई विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गर्न धेरै कठिनाई ब्यहोर्नु परेको अनुभव कर्णले सुनाए ।
पुर्वाञ्जल विश्व बिद्यालयबाट कलेजको सम्बन्धनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । विश्व बिद्यालयबाट सम्बन्धनका लागि एक करोड र सञ्चालन गर्न ५० लाख रुपैयाँ उपमहानगरपालिकाले कलेजलाई प्रदान गरिसकेको जनाएको छ । कलेज सञ्चालनका लागि अझै दुई करोड रुपैयाँ दिने निर्णय भइसकेको उपप्रमुख थापाले जानकारी दिइन् ।
भवन निर्माणका लागि ८ करोड रुपैयाँको लागतमा ठेक्का स्वीकृत भएपनि संरचना निर्माणका क्रममा रकम अपुग भएपछि करिव २ करोड रुपैयाँ थप गरेर १० करोड पुर्याइएको उपप्रमुख थापाको भनाई छ ।