नेपालगन्ज : पाँच दलीय सत्ता गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई प्रमुख र जनता समाजवादी पार्टी (जसपा) लाई उपप्रमुख भागबण्डामा सहमती गरेको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको बैठकमा यस्तो सहमती भएको हो । मुलुकभर रहेका ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ, भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन् ।
उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एकरएकमा मेयर पाएका छन् । कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन् । माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन ।
मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ । यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौं र पोखरा) एमालेले जितेको थियो, भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो ।
भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो । उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने काँग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो । धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो । नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए ।