नेपालगन्ज : बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । नेपालगन्जमा शनिबार एक कार्यक्रमका बीच निर्वाचन अपिल समितिका प्रमुख अधिवक्ता प्रभाकर भट्टराईको सभापतित्वमा कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैरे लगायतले संघका कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
संघका नवनिर्वाचित अध्यक्ष भोजराज शाहीले बाँकेको फुटबलको विकासका निम्ति नयाँ टिमले उर्जाशील भएर काम गर्ने बताए । पछिल्लो समय बिसम परिस्थितीका कारण चाहेर पनि फुटबलको विकासका निम्ति धेरै काम गर्न नसकेको बताउँदै अध्यक्ष शाहीले अबको नयाँ टिमले त्यसलाई पुर्ति गर्ने बताए ।
‘म धेरै खुसी छु, हाम्रो टिममा सबै युवाहरु नेतृत्वमा आउनु भएको छ, अब बाँकेको फुटबलको भविष्य यो टिमको हातमा छ, मैले तेस्रो पटक अध्यक्षको जिम्मेवारी लिए,’ उनले भने, ‘अब म अभिभावक भएर काम गर्न चाहन्छु, नयाँ पुस्तालाई आफ्नो क्षमता देखाएर काम गर्ने यो उत्कृष्ट अवसर हो, अब विगतको जस्तो फुटबलमा हुँदैन, हामी सबै मिलेर फुटबलको विकास गर्ने हो, एकवद्ध भएर हामी फुटबलको नयाँ योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता गर्दछौं ।’
कार्यक्रममा खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष शाहले अहिलेको निर्वाचित कार्यसमितिलाई फुटबललाई योजनावद्ध रुपमा अगाडी बढाउनु पर्ने चुनौति रहेको बताए । उनले भने, ‘विगतमा के कति उपलब्धी भए । त्यसको समिक्षा होला तर अबको नयाँ टिमलाई जसरी पनि फुटबललाई चलायन बनाउनु पर्नेछ ।’