नेपालगन्ज : बाँकेका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उत्साहजनक रुपले मनोनयन दर्ता गरिएको छ । निर्वाचन आयोगले बाँकेका ८ वटा स्थानीय तहमा आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ ।
निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार आइतबार जिल्लाका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राप्रपा, जनमत पार्टी लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ‘जिल्लाका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा राप्रपा, जनमत पार्टीसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्,’ उनले भनिन् ‘भोली (सोमबार) नेपाली कांग्रेस, एमाले, माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी लगायत दलका उम्मेदवारले मनोनयन दर्ता गराउनेछन् ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का तर्फबाट नेपालगन्जको नगर प्रमुख र उपप्रमुखसहित २३ वटै वडाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राप्रपाले नेपालगन्जको नगर प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरलाई उम्मेदवार बनाएको छ ।
राप्रपाले नेपालगन्जमा आइतबार र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएको थियो । त्यस क्रममा ठुलो संख्यामा राप्रपाका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । राप्रपाको तर्फबाट उपप्रमुख पदका उम्मेदवार चर्तिमगरले उत्साहजनक रुपले मनोनयन दर्ता भएको बताइन् ।
‘उत्साहजनक सहभागितामा राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तीमगर लगायत २३ वटै वडाको उम्मेदवारी दर्ता गरियो, मेरा आदरणीय नगरबासीहरुको अमुल्य भोटको अपेक्षा गरेका छौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।