काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऔं, विकास र समृद्धिको अभियान अघि बढाऔं भन्ने नारा दिएर स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवा सुविधाप्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरून्त कानुनी कारबाही गरिने जनाएको छ ।
त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए ।
यसैगरी स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए । पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँगाउँमा स्वस्थकर पिउने पानी, फोहरमैला व्यवस्थापनका बिषय र बिपत व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए ।
त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएर नै बिकासको योजनालाई अघि बढाउने प्रतिवद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पुर्याउने र तल्लो तहबाटै बिकास गर्ने योजना आफुहरुको रहेको उनको भनाइ छ ।