नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयर उम्मेदवारको संयुक्त सम्पर्क कार्यालय खोलिएको छ । आसन्न बैशाख ३० गते हुन लागेको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मेयरमा प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धिन राई चुनावी मैदानमा उत्रिएका छन् ।
नेपालगन्जको विपी चोक नजिक रहेको होटल सिएसटीमा उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो । बुधबार एक कार्यक्रमका बीच सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, पुर्वमन्त्री एवम् कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमाल, कांग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइराला, पुर्व सभापति सनत रेग्मी, संविधान सभाका सदस्य बादशाह कुर्मी, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, प्रदेश सभा २ ख का सभापति जितेन्द्र हमाल, मेयर पदका उम्मेदवार विष्ट, उपमेयर पदका उम्मेदवार राई लगायत विभिन्न वडामा रहेका कांग्रेसका उम्मेदवार, पार्टीका नेता, कार्यकर्ता लगायत उपस्थित भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति गौडेलले कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा जनता समाजवादी पार्टी र खजुरा गाउँपालिकामा नेकपा माओबादी केन्द्रसँग गठबन्धन गरेकाले उम्मेदवारलाई विजयी गराउन आब्हान गरे । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवार उठाएपनि २३ वटै वडामा कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
वडा तहमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धन दलबीच सहमती भएको उनको भनाई थियो । सो क्रममा बोल्ने बक्ताले मेयरमा विष्ट र उपमेयरमा राईलाई निर्वाचित गराएपछि नेपालगन्जले विकास र समृद्धिमा फड्को मार्ने बताए ।