म्याग्दी : आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् ।
उप-प्रमुखमा मनोनयन दर्ता गराएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन् । बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा एमालेबाट, लामिछानेले नेकपा माओवादी केन्द्रबाट र मुनाले नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन ।
विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनी कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उनले सामाजिक अभियन्ताको रुपमा काम गरिसकेकी छन ।
एमालेबाट उम्मेदवार बनेकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत संघ संस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील छिन ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन । विसं २०६० देखि राजनीतिमा सक्रिय उनी हाल विभिन्न संघ, संस्थामा आबद्ध छिन । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएकी थिइन ।
एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज छिन । विसं २०४८ देखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिइन् ।