बाँके(राप्ती सोनारी) : बाँकेको राप्ती सोनारी समग्र रुपमा चासोका साथ हेरिने गाउँपालिका हो । भौगोलिक र जनसंख्याको हिसाबले ठुलो क्षेत्र ओगटेको गाउँपालिकामा २०७४ सालमा कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाअध्यक्ष जितेको थियो ।
कांग्रेसले यसपटकको निर्वाचनमा पनि आफ्नो पुरानै विराशत कायम गर्ने रणनीति बनाएको छ । कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा तप्तबहादुर पौडेल र उपाध्यक्षमा मनिषासिंह थारु मैदानमा छन् । यसका लागि कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेश सभा र गाउँपालिका स्तरका नेता तथा उम्मेदवारहरु रणनीति बनाउन ब्यस्त भएका छन् ।
उनीहरुले गाउँपालिकामा कांग्रेसका जनप्रतिनिधीले नेतृत्व गर्दा जनतालाई प्रत्यक्ष फाईदा पुग्ने गरी भएका कामको ब्यापक प्रचार प्रसार गर्नुका साथै यसपटक पनि कांग्रेसका उम्मेदवार जिताउन मतदातालाई घर घरमा भेट्ने रणनीति बनाएका हुन् ।
नेपाली कांग्रेसका राप्ती सोनारी सभापति भिम रानाक्षेत्रीका अनुसार पार्टीले राप्ती सोनारीका आफ्ना उम्मेदवारलाई जिताउन सबै संयन्त्र परिचालन गरेको छ । ‘हामी यसपटक पनि राप्ती सोनारीमा आफ्नो विराशत कायम गर्ने रणनीतिमा छौं, किनकी कांग्रेसले विगतमा राप्ती सोनारी गाउँपालिकाको नेतृत्व गर्दा जनताका धेरै काम गरेका छौं,’ उनले भने ।
चुनावी रणनीतिसँगै अध्यक्ष पदका उम्मेवार पौडेल र उपाध्यक्ष मनिषाले मतदाता भेटघाटलाई जारी राखेका छन् । राप्ती सोनारी वडा नम्बर २ का मतदातालाई भेट्न उम्मेदवारहरु हिडेका छन् । अध्यक्षका उम्मेदवार पौडेलले मतदाताबाट धेरै राम्रो रेसपोन्स पाइरहेको बताए ।
नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडा सभापति नन्दलाल बस्नेतले पार्टीका गाउँपालिका सभापति रानाक्षेत्री, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार, वडाअध्यक्ष, वडा सदस्य पदका उम्मेदवार एकसाथ मतदाता भेटघाटमा निस्केको जानकारी दिए ।