नेपालगन्ज : धेरैको मन मस्तिष्कमा आइरहने नाम हो, डा. पंकज गुप्ता । फिजियो थेरापीमा विशेषज्ञता हासिल गरी उनले हजारौं संख्यामा बिरामीको सेवा गरिसकेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जसहित आफ्नै लगानीमा फिजियो थेरापी सेन्टर सञ्चालन गरेका गुप्ता अब जनताको प्रत्यक्ष सेवा गर्न आतुर छन् ।
यसका लागि आउँदै गरेको स्थानीय तहको निर्वाचनमा होमिदैछन् । चिकित्सा क्षेत्रमा लामो अनुभव संगालेर जनताको सेवा गर्न कस्सिएका डा. गुप्तालाई जनप्रतिनिधी बनाउन आगामी बैशाख ३० गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का मतदाताले आफ्नो विवेक प्रयोग गर्नेछन् ।
उक्त वडामा गुप्तासहित खुल्ला वडा सदस्यमा रामलखन बैश्य र सौकत अलि शाह, महिला सदस्यमा रविसा शर्मा हल्वाई, दलित महिला सदस्यमा मिना देवी धोबीलाई नेपाली कांग्रेसले उम्मेदवारका रुपमा अगाडी सारेको छ । उक्त वडाका मतदाताले यसपटक नेपाली कांग्रेसका सबै उम्मेदवारलाई मतदान गर्नेमा पूर्ण रुपले आशावादी रहेको डा. गुप्ताले सुनाए ।
‘मैले लामो समयसम्म डाक्टर भएर बिरामीको औषधी उपचार गरे, अब म जनताको सेवा गर्न चाहन्छु, यसका लागि मलाई जनताले पक्कैपनि जिम्मेवारी दिनुहुनेछ,’ डा. गुप्ताले भने । उक्त वडाका उम्मेदवारले उम्मेदवारी दर्तासँगै प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
वडाका उम्मेदवारसँगै बिहीबार मेयर पदका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरका उम्मेदवार कमरुद्धिन राईले पनि मतदाता भेटघाट गरेका छन् । सो क्रममा वडा नम्बर ३ का मतदाताले मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्यका उम्मेदवारलाई जितको अग्रिम शुभकामना दिएका थिए ।