बाँके (खजुरा) : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवारले खजुरामा सशक्त रुपले प्रचार थालेका छन् । गाउँपालिकाको वडा नम्बर २ मा घरदैलो सहित सशक्त रुपले प्रचार थालेका गरेका हुन ।
खजुरा गाउँपालिका वडा नम्बर २ सि गाउँबाट आइतबार(आज) बिहान घरदैलो अभियान गरिएको छ । घरदैलो अभियानमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बर बिक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, २ नम्बर वडा अध्यक्ष धनराम ओली, वडा सदस्यहरु छवि बिष्ट, वबिलाल सेन्चुरी सुनार, प्रभा विक र मैसरी पुन सहितको टोलीले अभियानको सुरुवात गरेको हो ।
घरदैलोका क्रममा कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुको उत्साह जनक रुपले सहभागिता रहेको थियो । घरदैलो अभियानमा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै खजुराका जनताको आय स्तरलाई बढाउन आफुहरुले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
खजुरामा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका डम्बर बिक तुफान र उपाध्यक्षमा कांग्रेसकी मञ्जु मल्ल उम्मेदवार रहेकी छिन ।
खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले गाउँपालिकामा भएका ८ वडा मध्ये ४ वडा स्तरमा गठबन्धन गरेको छ । वडा नम्बर १ र ३ मा कांग्रेसले तथा वडा नम्बर २ र ४ मा माओवादीका उम्मेदवारले वडाअध्यक्ष पाएका छन् । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।