कोहलपुर : नेपाली कांग्रेसबाट कोहलपुर नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले कोहलपुर नगरलाई विकासको मूलधारमा ल्याउनका लागि कोहलपुरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने बताएका छन् ।
आचार्यले जनताले अनुभूति गर्ने गरी विकासको आधार तय गर्नका लागि कोहलपुरका जनताले एक पटक आफ्नो विवेक प्रयोग गरी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई बिजय गराउन आग्रह गरे ।
स्थानीय तहको निर्वाचन प्रचारप्रसार अभियानका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको कोणसभामा बोल्दै नगर प्रमुख पदका उम्मेदवार आचार्यले कांग्रेसले कोहलपुरको विकास र समुन्नतिका लागि सबैसँग सहकार्य गरी जनताको आधारभूत समस्यासँग प्रत्यक्ष सरोकार राख्ने पक्षलाई ध्यान दिएर योजना निर्माण गरी कार्यन्वयन गर्ने प्रतिवद्धता समेत जनाए । साथै उनले कोहलपुर नगरपालिका वडा नम्बर २ का जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीसँग जोड्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदीले कोहलपुर नगर भित्रका महिलाहरुलाई विभिन्न सिपमूलक तालिम प्रदान गरी आर्थिकरुपमा सक्षम बनाउनका लागि विशेष योजनाका साथ काम गर्ने प्रतिवद्धता जनाइन् । साथै उनले कोहलपुर नगरपालिका वडा नम्बर २ का जनताले भोग्दै आएका समस्याहरु समाधान गर्ने कांग्रेसको मूल ध्येय रहेको उल्लेख गरिन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता भानुभक्त भट्टराईले कोहलपुरमा नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले पाँच वर्ष भ्रष्टाचार, अनियमितता र जनताको भावना विपरित कार्य गरेको बताउँदै नेपाली कांग्रेसलाई एक पटक कोहलपुरको संस्थागत विकासका लागि भोट दिन आग्रह गरे ।
कांग्रेस बाँकेका जिल्ला सदस्य राजेन्द्र श्रेष्ठले कोहलपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न काँग्रेस स्पष्ट दृष्टिकोण सहित जनताको काममा लाग्ने प्रतिवद्धता जनाए । कोहलपुरका जनताले एक पटक कांग्रेसलाई भोट दिनुपर्ने उनको भनाई छ ।