नेपालगन्ज : नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सबैको साथ, सबैको विश्वास र सबैको विकास’ भन्ने मूलमन्त्रसहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
उक्त प्रतिवद्धता पत्र कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, कांग्रेस बांकेका उपसभापति गोपालप्रसाद अधिकारी, कांग्रेस नेता मैकुशेष बेहना, कांग्रेस वडा सभापति जगदिशप्रसाद कुर्मी, कांग्रेस नेता संजय थापा, उपप्रध्यापक डा. राजेश केशर खनाल, शिक्षक नेता रमेशकुमार मिश्र, अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली लगायतले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उपमहानगरपालिकाका २३ वटै वडामध्ये आफ्नो वडाको छुट्टै प्रतिवद्धतापत्र सार्वजनिक गर्ने वडा नम्बर १८ पहिलो हो । प्रतिवद्धतापत्रमा समृद्ध वडाको परिकल्पना गरिएको छ । प्रतिवद्धतापत्रमा सामुदायिक बिद्यालयको स्तरसुधार गर्दै संबिधानले व्यवस्था गरे अनुसारको गुणस्तरीय निःशुल्क शिक्षा सबैको पहुँचमा पुर्याउने तथा गुणस्तरीय सामुदायिक बाल विकास केन्द्रहरू सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
यस्तै सबै सामुदायिक विद्यालयहरूमा पुस्तकालय, बालमैत्री कक्षाहरू, प्राविधिक शिक्षा, इ–लाइब्रेरी, शुद्ध खानेपानी, पर्याप्त शौचालय तथा स्यानेटरी प्याडको व्यवस्थाका लागि पहल गरिने भएको छ ।
जेष्ठ नागरिकलाई नेपाल सरकारले तोके अनुसार निःशुल्क वितरण गर्ने औषधिहरुलाई सहजरुपमा उपलब्ध गराइने, वडामा १५ बेडको अस्पताल निर्माण गरी एम.बि.बि.एस. चिकित्सकको व्यवस्था गर्ने, निःशुल्क स्वास्थ्य बीमाको दायरा बढाउँदै सबै वडावासीलाई वीमा कार्यक्रममा आवद्ध गराउने, वडामा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
वडामा कृषि क्षेत्रको विकासका लागि कृषकहरूलाई सहजरूपमा सिंचाइँ, उन्नत बीउ विजन, कृषि तालिम तथा बजारीकरणका लागि सहकारीहरु स्थापना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । यस्तै वडामा फोहर मैलाको निःशुःल्क व्यवस्थापन गरिने भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार मंगलप्रसाद वर्मा (सानु) ले प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा आफु निर्वाचित भए सरकारी तलवभत्ता नलिने घोषणा गरे । तलब भत्ता गरिव तथा विपन्न वर्गको हितमा खर्चिने उनले बताए ।
उक्त वडाबाट वडा अध्यक्षमा बर्मासँगै खुल्ला सदस्यमा रामबहादुर भण्डारी र रामप्रसाद मुराउ, महिला सदस्यमा केशु पोखरेल तथा दलित महिला सदस्यमा सरोज सोनकर उम्मेदवार छन् । उक्त प्रतिवद्धतापत्र कांग्रेसका वडा उपसभापति राजाराम सुवेदीले वाचन गरेका थिए ।