नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी अब प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन् ।
पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश स्तरिय भेलालाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै नेपालले ओलीसँग कम्युनिस्ट पार्टीमा हुनुपर्ने कुनैपनि गुण नभएको बताए । ‘केपीले कम्युनिस्टको सिद्धान्त, माक्सवादको मुल सिद्धान्त सबै त्यागिसकेका छन,’ उनले भने ‘त्यो पार्टीमा ब्यक्तिवाद छ, गुट मात्र छ ।’
ब्यक्तिवादले पार्र्टी चल्न नसक्ने र कार्यकर्ताले न्याय नपाउने नेपालले जोड दिए । केपी ओलीले क्रान्तिकारी ज्वाला निभाईसकेको अध्यक्ष नेपालले जिकिर गरे । केपीले कम्युनिस्टको सिद्धान्त परित्याग गरिसकेको अध्यक्ष नेपालको आरोप छ । ओलीले मनपरी ढंगबाट पार्टीलाई बिभाजनको स्थितिमा पुर्याएको नेपालले बताए ।
जनआन्दोलनबाट राजनीतिक परिवर्तन हुन्छ भन्नेमा कसैले कल्पना पनि नगरेको अवस्थामा त्यो सम्भव भएको बताउँदै नेपालले भने, ‘समयको माग छ भने विचार स्पष्ट छ भने संकल्प गर्नुपर्छ, दृढ हुनुपर्छ, असम्भव भन्ने कुरा केही छैन, न्यायको जित हुन्छ, त्यसैले हामीले हामीले पनि नयाँ संकल्प गरेका छौं ।’
युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दलबहादुर सुनार, युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेशकुमार शाही, नेकपा (एकिकृत समाजवादी) बाँकेका अध्यक्ष अशोक कोईराला लगायतले सम्बोधन गरेका थिए ।