नेपालगन्ज : नेपाली कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का मतदाताले नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टमाथी धेरै भरोसा रहेको बताएका छन् । उक्त वडामा बिहीबार बिहान आयोजित घरदैलोका क्रममा भेट भएका अधिकांस मतदाताले युवा र विवाद रहित ब्यक्ति भएको हुनाले नगर प्रमुखमा निर्वाचित भएपछि प्रशान्तले केही काम गर्न सक्ने संकेत देखिएको बताए ।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नगर प्रमुखमा कांग्रेसका प्रशान्त र उपप्रमुखमा जसपाका कमरुद्धिन राई प्रतिस्पर्धामा छन् । २०७४ सालको निर्वाचनमा वडामा जितेका जनप्रतिनिधीले कुनैपनि काम गर्न नसकेको मतदाताको गुनासो छ ।
वडाका जनप्रतिनिधीहरु विगतमा जनताको काम छाडेर ब्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए । ‘अघिल्लो निर्वाचनमा वडामा विजयी भएका जनप्रतिनिधिले कामै गरेनन् स्थानीय जलालु हलवाईले भने, ‘यो पटक काम गर्ने मान्छेलाई भोट हाल्ने हो ।’
अर्का मतदाता राकेश तमौलीले यसपटक सक्षम ब्यक्तिलाई मतदान गर्ने मन्साय बनाएको बताए । उक्त वडामा नगर प्रमुखमा प्रशान्त र उपप्रमुखमा कमरुद्धिनलाई भोट जान सक्ने संकेत गरे । तमौलीले भने, ‘नगरको विकास गर्न योजना बोकेकै नेतालाई जिताउनु पर्छ ।’
उक्त वडामा कांग्रेसका तर्फबाट वडाअध्यक्षमा मेराज अहमद हल्वाई, खुल्ला सदस्यमा उदयनारायण मिश्र र राजा खाँ, महिला सदस्यमा निशा शाह र दलित महिला सदस्यमा सुशिला सुनार उम्मेदवार छन् । वडाभित्र रहेका प्रत्येक मतदातामाझ पुगेर मत माग्ने काम गरिरहेको वडाअध्यक्षका उम्मेदवार हल्वाईले बताए । निर्वाचनको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको महिला सदस्यका उम्मेदवार शाहले बताइन् । ‘यो वडामा यसपटक कांग्रेसमाथी धेरै मतदाताको विश्वास देखिन्छ, मतदाताको विश्वासलाई कायम गरेर हामी निर्वाचित हुन्छौं,’ उनले भनिन् ।
वडा नम्बर ५ मा घरदैलोका क्रममा नगर प्रमुख पदका उम्मेदवार विष्टसहित, लुम्बिनी प्रदेशका सांसद मो. याकुव अन्सारी, निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडिया, कांग्रेस नेता निरन्जनसिंह सिजापति, माया पुन, नेता हाजी मोहम्मद कादिर अन्सारी, लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।