बाँके (राप्ती सोनारी) :
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राप्ती सोनारीमा नेपाली कांग्रेसप्रति जनलहर दिनहुँ बढ्दै गएको छ । निर्वाचनको पुर्वसन्ध्यामा विभिन्न पार्टी परित्याग गरेर बिहीबार (आज) ठुलो संख्यामा कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायत पार्टी परित्याग गरेर उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा आयोजित कोण सभामा करिव पाँच दर्जन ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरे । अन्य पार्टीले जनताको हितमा काम गर्न नसक्ने निस्कर्ष सहित कांग्रेसलाई रोजेको उनीहरुको प्रतिक्रिया छ ।
सो क्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्की, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, कांग्रेसका तर्फबाट राप्ती सोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारु, क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, कांग्रेस बाँकेका पुर्वजिल्ला सदस्य पवनकुमार शाह, नेपाली कांग्रेस राप्ती सोनारी सचिव सुरेश डाँगी लगायतले टिका र खादा ओढाएर स्वागत गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार पौडेलले अब चुनाव आउन धेरै समय नरहेको र मतदाताले आफ्नो सही विवेक प्रयोग गर्ने बेला आएको बताए । “हामीले दिन र रातलाई एक बनाई बैशाख ३० गतेका दिन मतदातालाई मतदानमा परिणत गराउनुपर्नेछ,” उनले भने “नेपाली कांग्रेसले चुनाव जितिसकेको छ, राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेसलाई कसैले हल्लाउन सक्दैन, नेपाली कांग्रेसले सबै घेरालाई तोडेर अगाडी बढिसकेको छ ।”
यस्तै गाउँपालिका उपाध्यक्षका उम्मेदवार थारुले आफु जनताको सेवा गर्नका लागि राजनीतिमा आएको र सबैको साथ पाएपछि काम गर्न सक्ने बताइन् । सो क्रममा राप्ती सोनारी ८ का वडाअध्यक्षका उम्मेदवार नरेन्द्र ओली, वडा सदस्यका उम्मेदवार, कांग्रेसका नेता, कार्यकर्ता लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।